मोरङ – १ नम्बर प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज आईतवार बोलाएका छन् ।
प्रदेश सभामा नेकपा प्रचण्ड–नेपाल पक्षले दर्ता गराएको मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव बाहेकको बिजनेश नभएकाले प्रस्ताव टेबल हुने निश्चित छ । तर सत्तापक्ष प्रदेशसभा बैठक नै बस्न नदिने खेल सुरू भएको छ ।
मुख्यमन्त्री राईनिकट नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नेकपा औपचारिक रुपमा विभाजन हुन नसकेको र सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा विचाराधीन भएकाले प्रदेशसभा बैठकको औचित्य नभएको बताएका छन् ।
‘मुख्यमन्त्री राईले नेकपा संसदीय दलको नेताको हैसियतमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका १६ जना प्रदेशसभा सदस्यलाई ३ महिनासम्म कुनै किसिमका संसदीय गतिविधिमा संलग्न नहुने गरी निलम्बन गर्नुभएको छ,’ राजभण्डारीले भने, ‘प्रदेशसभा बैठक बस्न कि त सभामुखले मुख्यमन्त्रीज्यूले गरेको कारबाही कार्यान्वयन गर्नुपर्छ कि नेकपाको औपचारिक विभाजन पर्खिनुपर्छ ।’
निलम्बनमा परेका प्रदेशसभा सदस्यहरूको उपस्थितिमा प्रदेशसभा बैठक अघि बढ्न नदिने राजभण्डारीले बताएका छन् । अविश्वास प्रस्ताव सफल वा असफल हुन कांग्रेसले निर्णय नगरुन्जेल प्रदेशसभा बैठकको औचित्य नहुने उनको भनाइ थियो ।
‘कांग्रेसको समर्थन विना नेकपाको कुनै पक्षसँग ४७ जनाको बहुमत पुग्दैन,’ उनले भने, ‘त्यसैले प्रदेशसभा बैठक बसेर गर्ने के ?’
प्रचण्ड–नेपाल पक्षका प्रदेशसभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सत्तापक्षबाटै प्रदेशसभा बैठक बस्न नदिनु संसदीय व्यवस्थाको खिल्ली उठाउने काम मात्रै हुने बताएका छन् ।
‘प्रदेश सभामा एक मात्र बिजनेश अविश्वासको प्रस्ताव छ । त्यसैले प्रदेशसभा सचिवालयले बैठकमा प्रस्तावलाई प्रक्रियागत रूपमा अघि बढाउनुपर्छ ।’
आङ्बोले नेकपाको संसदीय दल र प्रदेशसभा सचिवालयमा दलका नेता तथा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा कसैलाई कुनै किसिमको कारबाही गर्न नपाउने बताएका छन् ।
नेपाली कांग्रेस लगायतका अन्य दलको निर्णय पर्खेर प्रदेश सभाको बैठक रोक्नु जग हँसाइ हुने उनको भनाइ थियो । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले कुनै पनि हालतमा प्रदेशसभाको बैठक रोक्न नमिल्ने बताएका छन् ।
‘प्रदेशसभा भनेको जनताको आवाज उठाउने थलो हो,’ उनले भने, ‘कुनै व्यक्ति वा दलको स्वार्थमा प्रदेशसभाको बैठक रोक्न मिल्दैन । जनताको सुखदुःखको विषय सदनमा बोल्न पाउनुपर्छ ।’
अविश्वासको प्रस्ताव प्रदेशसभामा टेबल भएपछि कांग्रेस जनताको हित हुने निर्णय लिन सक्षम रहेको कार्कीको भनाइ थियो ।
माघ ७ गते सुरू भएको प्रदेश सभाको हिउँदे अधिवेशनमा सभामुख भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाएको पत्र पढेर अनिश्चितकालका लागि स्थगित गरेका थिए । प्रचण्ड–नेपाल पक्ष र प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलले सभामुख भण्डारीलाई दबाब दिएपछि आईतवार बैठक बोलाइएको छ ।
प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले सभामुखले आईतवार दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाएको र त्यसका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आईतवार ११ बजे बोलाएको बताए ।
१ नम्बर प्रदेश सभाका ९३ सदस्यमध्ये नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ जना सदस्य छन् ।
नेकपाका ६७ मध्ये मुख्यमन्त्री राईको पक्षमा २८, प्रचण्ड–नेपाल पक्षमा ३४, २ जना तटस्थ, १ जना फरार, सभामुख र उपसभामुख छन् । प्रदेशसभामा अविश्वासको प्रस्ताव सफल र असफल बनाउन ४७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुनेछ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।