काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको झगडामा जनतालाई मर्का पर्न थाल्यो । ओली गरेको संसद विघटन र नियुक्तिको विरोध गर्दै प्रचण्ड पक्षले आमहड्ताल गर्दा ट्याक्सीमाथि आगो लाग्यो । यसको प्रत्यक्ष मारमा परे ट्याक्सी चालक ।
गत माघ २२ गते नेकपा प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालका क्रममा ट्याक्सी जलाइएपछि त्यसविरुद्ध काठमाडौंमा आन्दोलन सुरू भएको छ ।
आज शनिवार राजधानी काठमाडौंको माइतीघर क्षेत्रमा ट्याक्सीसहित प्रदर्शनमा उत्रिएका चालकहरूले पेशागत सुरक्षाको माग गर्दै दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । प्रचण्ड नेकपाले आह्वान गरेको आमहड्तालका क्रममा ट्याक्सीमाथि आगो लगाउने व्यक्ति पक्राउ नपरेको आन्दोलनकारीको आरोप छ ।
नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले विरोध कार्यक्रम गर्दै राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्न माग गरेको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले शान्ति सुरक्षा फितलो बनाएको बताउँदै आन्दोलनकारीले आफ्ना समस्या सरकारले नसुनेको गुनासो गरेको छन् ।
ट्याक्सी व्यवसायीले टुटल पठाओ जस्ता सेवा बन्द गरिनुपर्ने, ट्याक्सी स्ट्यान्ड र शौचालयको व्यवस्था गरिनुपर्ने, कुनै पनि बहानामा सार्वजनिक सवारीसाधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने, ट्याक्सी व्यवसायीको लगानी सुरक्षित गर्नुपर्ने, यातायात क्षेत्रमा हुने गरेका गैरकानूनी धन्दा बन्द हुनुपर्ने माग राखेका छन् ।
आमहड्तालका क्रममा माघ २२ गते बिहानै काठमाडौँको गोंगबुमा कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको थियो । आगजनीमा संलग्नलाई हालसम्म प्रहरीले कारबाहीको दायरामा ल्याउन नसकेपछि व्यवसायी आक्रोशित बनेका छन् ।
ट्याक्सीमा आगो लगाउने प्रचण्ड पक्ष र दोषीलाई पक्राउ नगर्ने ओली सरकारमाथि व्यवसायी खनिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।