काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपासँग वार्ता गर्ने भए प्रतिबन्ध हटाएर देखाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।
शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले विप्लव वार्तामा आए समर्थन रहने बताएका छन् ।
‘हिजो पनि हामी विप्लवहरूलाई प्रतिबन्ध लगाउनुभन्दा मूलधारमा ल्याउन सके राम्रो भन्ने पक्षमा रहेको थियौं,’ उनले भने । प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नै नगरी विप्लवमाथि प्रतिबन्ध लगाएको प्रचण्डले बताएका छन् ।
‘इमान्दारितापूर्वक वार्तामा ल्याउन चाहेका भए प्रतिबन्ध हटाउनुपर्छ र उहाँहरू आउने हो भने हाम्रो समर्थन रहन्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीबाट धोका पाउनुअघि प्रचण्डले कहिल्यै पनि विप्लवको समर्थनमा बोलेका थिएनन् । विप्लवमाथि सरकारले प्रतिबन्ध लगाउँदा पनि नेताहरूको हत्या गर्ने योजना बनाएकाले प्रतिबन्ध लगाइएको दाबी गरेका थिए ।
पत्रकारसँग कुरा गर्दै प्रचण्डले अमेरिकी सहयोगको एमसीसी पार्टीले खारेज नगरेको बताए । बिहीबारको आमहड्तालमा एमसीसी चाहिँदैन भन्ने नारा लागेपछि प्रचण्डले यस्तो नारा नलगाउन निर्देशन दिएका थिए ।
‘एमसीसीबारे पार्टीभित्र छलफल चल्यो । केन्द्रीय समितिले कार्यदल बनायो । प्रतिवेदन बुझाइसकेको छ । पार्टीले अन्तिम निर्णय गरिसकेको स्थिति छैन,’ प्रचण्डले पत्रकारहरूसँग भने, ‘यो बेलामा दशथरिका नारा लगाउनुभन्दा ठोस नारा लगाउँ भन्ने हो । एमसीसीबारे पार्टीले ठोस निर्णय गरेकै छैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।