आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

‘मांसाहारी’ प्रचण्डलाई नेपाली कांग्रेसको विशेष अपिल

‘मांसाहारी’ प्रचण्डलाई नेपाली कांग्रेसको विशेष अपिल

  • मिडिया डबली
  • शुक्रवार, माघ २३ २०७७

  • 32.4K
    SHARES

  • ‘मांसाहारी’ प्रचण्डलाई नेपाली कांग्रेसको विशेष अपिल

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सडकमै आएर आन्दोलन गरिरहेका छन् ।

    केही हप्ताअघि भएको एक कार्यक्रममा प्रचण्डले अब शाकाहारी आन्दोलनले मात्रै नहुने आह्वान युवाहरूलाई गरे । यसको अर्थ ‘मांसाहारी’ हिंसात्मक आन्दोलन गर्न भड्काएको अर्थ लाग्यो ।

    संसद विघटनको विरोध गरिरहेका प्रचण्डकै नेतृत्वमा बिहीबार देशभर आमहड्ताल गरेर जनतालाई दुःख दिने काम भयो । तसर्थ संसद विघटनको विरोध गरिरहेको नेपाली कांग्रेसले प्रचण्ड लगायत नेता र दलहरूलाई विशेष अपिल गरेको छ ।

    शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनतालाई दुःख नहुने शान्तिपूर्ण आन्दोलन गर्न सबैलाई आह्वान गरेका छन् ।

    ‘नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरू र प्रवृत्तिविरुद्ध नेपाली कांग्रेस संसद र सडक दुवै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका वा नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ छौं । विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपिल समेत गर्न चाहन्छौं ।’

    प्रचण्डको नेतृत्वमा बिहीबार आमहड्ताल र बन्द भएपछि कांग्रेसको अपिल आएको हो । प्रवक्ता शर्माले विधि उल्लंघनको शृंखलाबद्ध प्रवृत्तिविरुद्ध भोलि शनिवार देशभर हुने आन्दोलनमा सहभागी हुन शुभेच्छुक संस्थाहरूलाई आग्रह गरेका छन् ।

    विज्ञप्तिमा उल्लेख छ, ‘प्रतिनिधिसभा विघटन, त्यसविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथ ग्रहण यी ३ वटा प्रश्नमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरूमा अझ व्यापकताका लागि नेपाली कांग्रेस सबैलाई अपिल गर्दछ ।’

    नेपाली कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते विभिन्न तहमा पार्टी र भातृ संस्थाहरूको विरोध प्रदर्शन गरिसकेको छ । भोलि शनिबार शुभेच्छुक संस्थाहरूले विरोध प्रदर्शन गर्ने कार्यक्रम छ भने फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शनको कार्यक्रम रहेको जनाइएको छ ।

    ‘प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम ठहर गर्दै नेपाली कांग्रेस आन्दोलनमा छ । विघटन लगत्तै नेपाली कांग्रेसले आयोजना गरेको सर्वदलीय बैठकबाट निर्मित साझा धारणाको पक्षमा आन्दोलनका अलग–अलग कार्यक्रममार्फत व्यापक जनमत प्रकट भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संवैधानिक परिषद् सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले शुरूदेखि नै कुल्चिँदै आएको विषयमा संस्थागत निर्णयका साथ नेपाली कांग्रेस प्रस्ट रूपले विरुद्धमा उभिएको छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावादउन्मुख प्रवृत्तिविरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहने छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend