काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले आज काठमाडौंको दरबारमार्गमा जनसभा आयोजना गर्दैछ । जनसभालाई ओली पक्षले धेरै प्रचारप्रसार गरेको छ भने विशेष घोषणा हुने संकेत समेत दिएको छ ।
आज हुने जनसभाबारे सर्वत्र चासो भइरहेका बेला ओलीको निकट रहेर ‘बा’ भन्नेहरूले संघीयता खारेज गर्नुपर्ने सार्वजनिक आह्वान गरेका छन् ।
ओली पक्षीय नेत्री निरुदेवी पालले संघीयता खारेजीको एजेण्डा लिएर जनतामा जान ओलीसमक्ष बिन्ती गरेकी छन् ।
नेपाल जस्तो सानो र आर्थिक अवस्था कमजोर भएको मुलुकमा संघीयता नामको सेतो हात्ती धान्न नसकिने दाबी गर्दै नेत्री पालले जनताले चाहेको विकेन्द्रीकरण भएकाले संघीयता खारेज हुनुपर्ने तर्क गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई फेरि पनि मेरो अनुरोध छ, मलाई पार्टीले कारवाही गरे पनि गरोस्, कुनै दिन टिकट पाएछु र जनताले हराएछन् भने पनि ठीकै छ, सहुँला । तर हाम्रो जस्तो सानो मुलुक, आर्थिक स्थिति कमजोर भएको मुलुक, प्रत्येक नेपालीको टाउकोमा विदेशीको ऋऋ छ । तसर्थ प्रधानमन्त्रीज्यू ! यो संघीयता नामकोे सेतो हात्ती हाम्रो मुलुकले धान्दैन । मुठ्ठीभर नेता त खुशी छौं । कोही मुख्यमन्त्री, कोही प्रदेशमन्त्री कोही सांसद छौं । तलब भत्तामै देशको ढुकुटी न सिध्यायौं । जनताले चाहेको अधिकारको विकेन्द्रीकरण हो । बरु स्थानीय तहलाई थप अधिकारसम्पन्न बनाऔं । जनताको घरदैलोमा सर्वसुलभ ढंगले सेवा पुर्याऔं । तर प्रदेश सरकार खारेज गरौं । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं सम्माननीय प्रधानमन्त्रीज्यू ! तर हाम्रो मुलुकले यत्रो तामझाम व्यहोर्न सक्दैन । नेताहरूको सुरक्षा पनि कटौती गरौं, सम्माननीय प्रधानमन्त्रीज्यू । यही एजेन्डा लिएर जनतामा जाँदा राम्रो हुनेछ । मेरो अनुरोध हजुरलाई !’
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरेर आगामी बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरिएको छ । ओलीको कदमविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायत दलहरू आन्दोलन गरिरहेका छन् ।
राजनीतिमा एक्लो परेका ओलीले जनमत बढाउन हिन्दूराष्ट्र घोषणा र संघीयता खारेजीको निर्णय लिनसक्ने चर्चा समेत राजनीतिक वृत्तमा चल्ने गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।