काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सडकबाटै पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आदेश दिएको खुलासा गरेका छन् ।
तर प्रचण्ड बिहीबारको आमहड्तालका क्रममा सडकमा आएपनि प्रहरीले पक्राउ गरेन । प्रहरीले किन पक्राउ गर्न सकेन भन्नेबारे भने नेता पुनले केही खुलाएका छैनन् ।
बिहीबारको आमहड्तालका क्रममा काठमाडौंको चाबहिलमा बोल्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरु केपी शर्मा ओली र बादलसँग नतर्सिने बताएका छन् ।
‘प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठाउन आदेश दिएको खबर सुनेको छु,’ उनले भने । ओली सधैं प्रधानमन्त्री र थापा सधैं गृहमन्त्री रही नरहने बताउँदै पुनले आन्दोलन सफल भएर पदबाट हटेका दिन सेना र प्रहरीले नै उठाएर हिरासतमा राख्ने दाबी गरेका छन् ।
‘सेनाका बख्तरबन्द गाडी र ट्यांकर निकालेर जनता तर्साउन खोजिएको छ । हामी सबै लडेर आएका छौं । जनता लडेर आएका छन्,’ उनले भने, ‘खबरदार ! केपी ओली र रामबहादुर थापा सधैं प्रधानमन्त्री र गृहमन्त्री भइराख्दैनन् । पदबाट झरेको भोलिपल्ट उठाएर ल्यायो भने के हुन्छ ? कसैले घिसारेर उठायो भने कसले संरक्षण गर्छ ?’
राज्यशक्तिको दुरुपयोग गर्नेहरूको हालत ज्ञानेन्द्रको जस्तै हुने दाबी गर्दै उनले धम्की बन्द गर्न चेतावनी दिएका छन् । ‘ज्ञानेन्द्र देशैभर र्याली गर्दै हिँडे । लाखौं जनता महाराज भन्दै जान्थे । बुझें, सुनें भन्दै टाउको हल्लाएर हिँडेका थिए । आज कहाँ टाउको हल्लाउँदै हिँडेका छन् थाहा छ कि छैन ?’ उनले भने, ‘जसले राज्यशक्तिको दुरुपयोग गर्छ त्यसको हालत ज्ञानेन्द्र शाहको जस्तै हुनेछ ।’
नेता पुनले आवश्यक परे युवा, मजदुर, किसानको हित तथा लोकतन्त्र र संविधानको रक्षाका लागि जेल जान समेत तयार रहेको बताए ।
‘हामीले आत्मसमर्पण वा झुक्न र भाग्न जानेका छैनौं । हिजो ज्ञानेन्द्रसँग पनि भागेको होइन, कुनै निरंकुश सत्तासँग पनि भागेको होइन,’ उनले भने, ‘केपी र रामबहादुर थापा त अस्ति भर्खरै देखेका, के सोच्छन्, कसरी चल्छन् सबै थाहा छ । ३० वर्ष, ४० वर्षदेखि देखिराखेका मान्छेहरुले आज वरिपरि सेना, प्रहरी राखे, स्कर्टिङमा हिँडेर एकछिन महाराज भएको जस्तो कल्पना नगर्नुहोला ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।