काठमाडौं – राजधानी काठमाडौं उपत्यकाको गोंगबुमा बिहानै ट्याक्सीमा आगजनी भएको घटना सेलाउन नपाउँदै टाटासुमोमा तोडफोड भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको आमहड्ताल उल्लंघन गरेको भन्दै सुमोमा तोडफोड गरिएको छ ।
प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको जनाएपनि गोंगबु क्षेत्रमा प्रहरी तमासा हेरेर बसेको छ । त्यहाँ एकपछि अर्काे घटना भइरहेका छन् ।
गोंगवु चोकबाट कपुरधारा जाने बाटोमा ना१ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशीलसिंह राठौरले बताएका छन् । बन्द गराउने प्रचण्ड नेकपा पक्षले सुमोको सिसा फुटाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बिहीवारका लागि आह्वान गरेको आमहड्ताल सफल पार्न काठमाडौं उपत्यकामा स्थायी कमिटीका सदस्यहरूलाई कमाण्डर तोकेको कार्यक्षेत्र विभाजन गरेको छ । एकपछि अर्काे घटना भइरहेको क्षेत्र काठमाडौंको गोंगबुमा स्थायी कमिटी सदस्य भीम रावललाई जिम्मेवारी तोकिएको छ ।
सो क्षेत्रको आन्दोलन परिचालनको काम रावलको हो तर त्यहाँ बिहानैदेखि अप्रिय घटना भइरहेका छन् ।
नेकपा प्रचण्ड–नेपाल पक्षले कलंकी चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल, सातदोबाटोमा देव गुरुङ, पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लिलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायण गोपालचोक महाराजगञ्जमा शक्ति बस्नेत, गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मालाई कमान्डर तोकिएर खटाएको छ ।
भीम रावलले नेतृत्व गरेको कमाण्ड क्षेत्र काठमाडौंको गोंगबुमा बिहानै कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको थियो । ट्याक्सी चलाएरै गुजारा गर्ने श्रेष्ठको ट्याक्सी जलाएर स्वाहा बनाइएपछि उनी संकटमा परेका छन् ।
सवारीसाधनमा भइरहेका आगजनी र तोडफोडको क्षतिको जिम्मा कसले लिने भन्ने समेत कुनै ग्यारेन्टी छैन । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायमा नियुक्ति गरेको आरोप लगाउँदै प्रचण्ड–नेपाल पक्षले विरोध गर्दै बिहीबार देशव्यापी आमहड्ताल गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।