काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर आफू मुख्यमन्त्री बन्ने सुरसार गरिरहेकी नेत्री अष्टलक्ष्मी शाक्य काठमाडौंबाट पक्राउ परेकी छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज बिहीबार आह्वान गरेको आमहड्ताल सफल पार्न कमाण्डरको रूपमा खटिएकी शाक्य काठमाडौंको कलंकीबाट पक्राउ परेकी हुन्् ।
नेकपा प्रचण्ड–नेपाल पक्षले कलंकी चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल, सातदोबाटोमा देव गुरुङ, पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लिलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायण गोपालचोक महाराजगञ्जमा शक्ति बस्नेत, गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मालाई कमान्डर तोकिएर खटाएको थियो । कलंकीमा खटिएकी कमाण्डर शाक्य नै पक्राउ परेपछि नेता कार्यकर्तामा खैलाबैला मच्चिएको छ ।
प्रहरी र सशस्त्र प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई पक्राउ गरिरहेको छ ।
प्रहरीले उज्यालो नहुँदै सामाखसुसीबाट केही युवा पक्राउ गरेको थियो । कलंकीबाट पनि नेत्री शाक्यसहित आधा दर्जन नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।