काठमाडौं – सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्ष पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ ।
ओली पक्षले शुक्रवार काठमाडौंमा प्रदर्शन र आमसभा गर्ने तयारी गरिरहेको छ । त्यसको तयारीस्वरुप ओली पक्षले बुधवार मोटरसाइकल र्याली आयोजना गरेको छ ।
नेकपाकै प्रचण्ड–नेपाल पक्षले बिहीबारका लागि आमहड्ताल घोषणा गरेको छ । आमहड्ताल सफल पार्न आह्वान गर्दै प्रचण्ड–नेपाल पक्षले बुधवार साँझ मसाल जुलुस निकाल्यो । यसरी नेकपाका दुबै पक्ष आफूलाई बलियो देखाउन र एकले अर्कोलाई निचो देखाउन सडकमा उत्रिन थालेपछि मुठभेडको सम्भावना बढेको पाइएको छ ।
प्रतिनिधिसभा संसद विघटन र ओली सरकारविरुद्ध माघ १३ गते प्रचण्ड–नेपाल पक्षले राजधानीमा विशाल आमसभा गरेको थियो । त्यसलाई काउन्टर दिन सत्तामा रहेको ओली पक्षले बागमती प्रदेश कमिटीको आयोजनामा शुक्रवारका लागि आमसभा तय गरेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले देशभर सभा र विरोधका विभिन्न कार्यक्रम गर्न थालेपछि ओली पक्ष पनि उस्तै प्रकृतिका सभा र प्रदर्शनमा लागेको छ ।
२०७५ जेठ ९ गते २ पार्टी एकीकरण भएपछि सत्तारुढ बनेको नेकपा कानूनी रुपमा एक भए पनि राजनीतिक रुपमा विभाजित छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा २ पक्षमा विभाजित भएको छ । विभाजनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्ष सडकमा उत्रिएको छ ।
ओली पक्षले सभा आयोजना गरेको अघिल्लो दिन बिहीवारका लागि प्रचण्ड–नेपाल पक्षले आमहड्ताल आह्वान गर्नुले मुठभेडको सम्भावना बढेको आकलन गर्न थालिएको छ । नुवाकोटमा सोमवार ओली पक्षको कार्यक्रममा पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रचण्ड–नेपाल पक्षले कालो झण्डा देखाउँदा झण्डै मुठभेड भएको थियो ।
‘दुबै पक्षले आआफ्नो पक्षमा जनमत देखाउन आमसभा गर्दै आएकाले कसले कति मानिस सडकमा ल्याउने प्रतिस्पर्धा चलिरहेको छ । जसले गर्दा एकले अर्काको कार्यक्रममा अवरोध गर्ने अवस्था आउने सम्भावना देखिएको छ । यसले मुठभेड निम्त्याउन सक्छ,’ सुरक्षा निकायका एक अधिकारीले भने ।
ओली पक्षको आमसभामा देशभरबाटै नेता–कार्यकर्ता सहभागी हुने भएका छन् । ओली पक्षले सबै सम्पर्क मञ्च, जनवर्गीय संगठनलाई आमसभामा सहभागी हुन निर्देशन दिएको छ । प्रचण्ड–नेपाल पक्षलाई काउन्टर दिने उद्देश्यले गर्न लागिएको आमसभालाई ओली पक्षले प्रतिष्ठाको विषय बनाएको छ । तर ओली पक्षका बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले भने काउन्टर आमसभा नभएको जिकिर गरेका छन् ।
पोखरेलले राजनीतिक सभाबाट आफ्ना धारणा सार्वजनिक गर्ने बताए । ‘हाम्रा राजनीतिक उद्देश्य र मूल्य मान्यताको विषयमा जनतामा जानकारी गराउने हेतुले सभा गर्न लागिएको हो । यो काउन्टर आमसभा होइन,’ आमसभा आयोजक समेत रहेका पोखरेलले भने ।
प्रचण्ड–नेपाल पक्षले ओलीकै कारण मुलुक राजनीतिक दुर्घटनामा पर्न लागेको दाबी गरेको छ । प्रधानमन्त्री ओलीले प्रतिनीधिसभा विघटन गरेर मुलुकमा संवैधानिक संकट उत्पन्न भएको प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।
‘प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम र कामचलाउ सरकारको गैरसंवैधानिक, स्वेच्छाचारी एवं दमनकारी क्रियाकलापविरुद्ध पनि संघर्षलाई यस रुपमा अघि बढाउनुपर्ने बाध्यात्मक स्थिति उत्पन्न हुन गएको छ । यसैकारण आमहड्ताल गर्नुपर्ने आवश्यकता भएको हो,’ प्रचण्ड–नेपाल समूका प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रचण्ड–नेपाल पक्षले आमहड्ताल आह्वान गरेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बागमती प्रदेश आसपासका जिल्लाबाट काठमाडौं आउने सवारीसाधनलाई सुरक्षा दिन निर्देशन दिएका छन् । ‘बिहीवार काठमाडौ आउने सवारीसाधनलाई सुरक्षा दिन गृह मन्त्रालयले निर्देशन दिएको छ,’ नेपाल प्रहरी स्रोतले भन्यो ।
नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीवारका लागि आह्वान गरेको आमहड्ताल सफल पार्न काठमाडौं उपत्यकामा स्थायी कमिटीका सदस्यहरुलाई कमाण्डर तोकेको छ । उनीहरुले उपत्यकाका विभिन्न स्थानमा नेतृत्व गर्नेछन् ।
कलंकी चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल, सातदोबाटोमा देव गुरुङ, पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लिलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायण गोपालचोक महाराजगञ्जमा शक्ति बस्नेत, गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मालाई कमान्डर तोकिएको जनाइएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।