काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराम वाग्ले मृत फेला परेका छन् ।
बुधवार राति सवा ९ बजे बरहथवा नगरपालिका–९ स्थित नयाँरोड–मधुवनी सडकखण्ड अन्तर्गत सोल्टी गेटनजिक सडकमा वाग्ले मोटरसाइकलसहित लडिरहेको अवस्थामा अचेत भेटिएपछि अस्पताल लगिएको थियो ।
वाग्लेलाई बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकले मृत घोषणा गरेका हुन् । हेल्मेट लगाइरहेको अवस्थामा भेटिएका वाग्लेको टाउकोमा केही चोट देखिएको प्रहरीले जानकारी दिएको छ ।
बुधवार साँझ वाग्ने बरहथवा बजारमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षले निकालेको मसाल जुलुसमा सहभागी रहेका थिए । ‘उहाँकै नेतृत्वमा मसाल जुलुस निकालिएको थियो । त्यसपछि करीब ९ बजेतिर उहाँ हिँड्नुभएको थियो,’ नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले भनेका छन्, ‘त्यसपछि उहाँ कहाँ जानुभयो भन्ने थाहा भएन । तर सडकमा लडिरहेको अवस्थामा भेटिनुभयो ।’
ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटले सडक दुर्घटनामा परेर वाग्लेको ज्यान गएको हुनसक्ने बताएका छन् ।
ज१०प ३२०६ नम्बरको मोटरसाइकल चढेर आएका वाग्ले कहाँ जाँदै थिए भन्ने समेत नखुलेको प्रहरीले जनाएको छ ।
बरहथवाकै स्थायी वासिन्दा रहेका वाग्ले पछिल्लो समय परिवारसहित महोत्तरीको बर्दिबासमा बस्दै आएका थिए । ‘उहाँ बरहथवाबाट राजमार्गतर्फ जाँदै गरेको जस्तो देखिन्छ, त्यसक्रममा जंगल प्रवेश गर्नै लाग्दा दुर्घटनामा परेको हुनसक्छ,’ डीएसपी भाटले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।