काठमाडौं – लामो समयदेखिको अन्योल चिर्दै आज बुधवार अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् ।
यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्ष सहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सोअनुसार बुधवार बिहान सबै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने गरी कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कानूनतः उनीहरुको नियुक्तिपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउने भएका छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संवैधानिक परिषद्का सदस्य सचिव समेत रहेका मुख्यसचिव शंकरदास वैरागीले परिषद्बाट सिफारिस भएका सबै जनाको सिफारिस कानूनअनुसार परिपक्व भएकाले नियुक्तिका लागि मंगलवार साँझ नै राष्ट्रपतिसमक्ष नाम पठाएका थिए ।
परिषद्ले नियुक्तिका लागि नाम पठाएलगत्तै राष्ट्रपति कार्यालयले बुधवार सबै जनाको नियुक्तिको तयारी गरेको हो । संविधानअनुसार संवैधानिक निकायका पदाधिकारीको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने प्रावधान रहेको छ ।
मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकले संवैधानिक आयोगमा रिक्त रहेको ४५ जना पदाधिकारी तथा सदस्यहरु नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सो निर्णय संवैधानिक परिषद्ले ५ पुसमा संसद् सचिवालयमा पठाएको थियो ।
सिफारिस भएकाको नाममा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५’मा ४५ दिनभित्र निर्णय दिन नसके स्वतः नियुक्ति हुने प्रावधान रहेको छ । पुस ५ गते संसदीय सचिवालयमा पुगेको सो पत्र माघ २० गते परिपक्व भएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।
नियमावलीमा भनिएको छ, ‘समितिले सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरी प्रस्तावित पदका लागि समितिको राय तयार गरी सम्बन्धित निकायमा पठाउनुपर्नेछ । सो समयभित्र समितिले सम्बन्धित निकायमा आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा सुनुवाइका लागि पठाइएको पदमा नियुक्तिका लागि कुनै बाधा पुग्ने छैन ।’
संवैधानिक आयोगको पदाधिकारीको सिफारिसको विषयमा सभामुख अग्नि सापकोटाले नियुक्ति रोक्न सक्कल फाइल फिर्ता पठाएका थिए । तर सभामुखले आफूसँग छलफल नगरी पत्र फिर्ता पठाएको भन्दै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाले आपत्ति जनाएका छन् ।
राजनीतिक खिचातानी र भागबन्डाका कारण संविधानले कल्पना गरेको संवैधानिक आयोगले पूर्णता पाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश ल्याएका थिए । राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि बहुमतका आधारमा संबैधानिक आयोगमा नियुक्तिको सिफारिस गर्न सकिने प्रावधान ल्याइएको थियो । सोही कानूनी प्रावधानअनुसार नै मंसिर ३० गते परिषद्को बैठक बसेर ११ वटा आयोगमा पदाधिकारी सिफारिस गरिएको थियो ।
नेपालको संविधानको धारा २८४ मा संविधानबमोजिम प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।
संवैधानिक परिषद् बैठकले गरेको सिफारिसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित २ जना सदस्यको नाम सिफारिस भएको थियो । प्रमुख आयुक्तमा पूर्वगृहसचिव प्रेमकुमार राई र आयुक्तहरूमा पूर्वएआईजी जयबहादुर चन्द र उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश किशोर सिलवालको नाम सिफारिस गरिएको थियो ।
मानवअधिकार आयोगमा सर्वोच्चका पूर्वन्यायाधीश तपबहादुर मगरको नाम सिफारिस भएको थियो भने महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुलीको नाम नियुक्तिका लागि सिफारिस गरिएको थियो ।
कहाँ कसको नियुक्ति हुँदै ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रमुख आयुक्तः प्रेमकुमार राई
आयुक्तः जयबहादुर चन्द
आयुक्तः किशोर सिलवाल
मानवअधिकार आयोग
अध्यक्षः तपबहादुर मगर
सदस्यहरू
मनोज दुवाडी
डा. सूर्य ढुंगेल
लिली थापा
मिहि ठाकुर
निर्वाचन आयोग
आयुक्तहरू
रामप्रसाद भण्डारी
डा. जानकी तुलाधर
वित्त आयोग
जुद्ध गुरुङ
अमरराज मिश्र
महिला आयोग
अध्यक्षः कमलाकुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिन्हा
दलित आयोग
अध्यक्षः देवराज विक
सदस्यहरू
मीना सोब
परशुराम रम्तेल
कुञ्ज बराइली
मेहेले पार्की
समावेशी आयोग
अध्यक्षः मनप्रसाद खत्री
सदस्यहरू
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पासवान
आदिवासी आयोग
अध्यक्षः रामबहादुर थापा
सदस्यहरू
मीन श्रीस मगर
मिनसिंह लामा
रिना राना
चरण राई
मधेसी आयोग
सदस्यहरू
जिवच्छ साह
रेणुदेवी साह
विजय गुप्ता
थारू आयोग
सदस्यहरू
विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारू
भोलाराम चौधरी
मुस्लिम आयोग
महमुद्दिम अली
मिर्जा अर्सद बेग
आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।