काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि दिएको ‘अब शाकाहारी आन्दोलनको काम छैन’ भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै प्रचण्डले आदमखोर आन्दोलन गर्न चाहेको तर नेपालमा अब त्यो सम्भव नभएको बताएका छन् ।
नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले भने, ‘उहाँ (दाहाल) ले चिकेन चिल्ली खान खोज्या हो ? त्यसो त पक्कै होइन होला । उहाँ मांशाहारी मात्र होइन, आदमखोर आन्दोलन, मान्छे मार्ने आन्दोलन गर्न खोज्दै हुनुहुन्छ । म उहाँलाई भन्न चाहन्छु, अब नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन, कुनै धृष्टता नगर्नुहोला । हिजोको जमाना यो होइन । हिजो केपी ओली प्रधानमन्त्री थिएन, झुक्याइयो होला, झुक्याउन सफल हुनुभयो होला । जनतालाई सुन्दर सपना देखाएर अल्मल्याउनुभयो होला । अब कोही अल्मलिनेवाला छैनन्, त्यो कुरा बुझे हुन्छ ।’
ओलीले अगाडि थपे, ‘आदमखोर आन्दोलन अब चल्न सक्दैन । त्यसकारण तपाईंले साग खानुको अर्को विकल्प छैन । अब सागै खानुपर्छ । अर्कोतिर नसोचे हुन्छ ।’
प्रधानमन्त्री ओलीले बैशाखमा निर्वाचन हुने बताएका छन् । स्व. हेमनारायण यादवको १७ औं स्मृति सभालाई सोमवार सम्बोधन गर्दै ओलीले निर्वाचन तोकिएको मितिभन्दा १ दिन पनि पर नसर्ने ठोकुवा गरेका छन् ।
उनले भने, ‘२ नम्बर प्रदेशमा बैशाख १७ गते नै चुनाव हुन्छ । चुनावको तयारीमा लागिहाल्नुस् ।’ ओलीले चुनाव तयारीमा निर्वाचन आयोग लागेकाले बैशाखमा तोकिएको चुनाव कुनै पनि हालतमा पर नसर्ने बताएका छन् ।
देशविरुद्ध षड्यन्त्र गर्ने र भ्रष्ट तत्वलाई आगामी निर्वाचनबाट बिदा गर्नुपर्ने पनि ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले आफूलाई मधेशविरोधी भनेर प्रचार गरिएको भन्दै चित्त दुखाएका छन् । ‘केपी ओली मधेशी विरोधी हो भनेर कानकानमा पुर्याएका होलान् । अत्यन्त प्रतिकूल समयमा पनि तराई–मधेशले हामीलाई माया गर्यो,’ ओलीले भने, ‘हामीलाई राम्रो मत दिएर मधेशका जनताले जिताए । अहिले त तराई–मधेश जागेको छ, जुर्मुराएको छ । यहाँका वासिन्दाले देश बनाउने र बिगार्ने को हो भन्ने बुझिसकेका छन् । म तराई–मधेसका जनतालाई सलाम भन्न चाहन्छु । यो मधेश २००७ साल, २००९ साल, २०१५ साल लगायतका आन्दोलनमा हरदम सरिक भएको छ । यो मधेश आज फेरि जागेको छ, म प्रशंसा गर्न चाहन्छु ।’
प्रधानमन्त्री ओलीले आफूले नै मधेशको विकास गर्ने बताएका छन् । ‘केपी ओलीले नै मधेश बनाउँछ, बाटो, ढल र सिँचाइ, अस्पताल, स्कूल सबै बनाउँछ । तराईमा सिँचाइ गर्न पहाड छेडेर सुनकोसी मरिन डाइभर्सन ल्याउँदैछौं । अब तुरुन्तै शिलान्यास हुँदैछ । निजगढमा ठूलो विमानस्थल बनाउँदैछौं । द्रूतमार्गको काम समेत तीव्र गतिमा अघि बढिरहेको छ । मधेशको समग्र विकासका लागि यो सरकार प्रतिबद्ध छ ।’ ओलीले हुलाकी राजमार्ग पनि छिट्टै सम्पन्न हुने बताएका छन् ।
ओलीले मधेश अन्नको भण्डार भएको बताएका छन् । ओलीले भने, ‘सिँचाइको भरपर्दो प्रबन्ध गर्ने हो भने अन्न आयात होइन, निर्यात गर्न सक्छौं ।’ ओलीले आफू नेतृत्वको सरकार र पार्टीले नै विकास गर्ने दाबी गर्दै भने, ‘हामी नवलपरासीमा ठूलो फलाम खानी स्थापना गर्दैछौं । अब हाम्रै देशमा रड, छड, औजार उपकरण उत्पादन हुन्छ । हामी कृषि मल कारखाना स्थापना गर्दैछौं । हामी दैलेखमा पेट्रोल डिजेल खानीको अध्यन शुरूआत गर्दैछौं । हामीलाई खपत हुने खपत गर्छौैं, बाँकी निर्यात गर्छौं । चुनाव आउँदैछ, तपाईंहरू देशभक्तलाई जनादेश दिनुस् ।’
ओलीले ३ वर्षदेखि शिथिल भएको पार्टी केही मानिस पाखा लागेपछि जुर्मुराएको दाबी गरेका छन् । ओलीले प्रतिनिधिसभा विघटन संविधानअनुसार गरिएको दाबी गरेका छन् ।
उनले भने, ‘विघटन संवैधानिक छ, चुनाव हुन्छ । सांसद किनबेच गरेर नक्कली सरकार बनाउने काम अब हुँदैन । अब जनताको जनादेशबाट सरकार बन्छ । किनबेचवाला सरकार अब बन्दैन ।’
कार्यक्रममा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले संसद् पुनःस्थापना कुनै पनि हालतमा नहुने बताएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।