काठमाडौं – विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बझाङमा कम्युनिस्टहरूको प्यानल हारेको झोकमा नेपाली कांग्रेस कार्यकर्तामाथि खुडा प्रहार गरी हत्या भएको छ ।
बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–३ का २३ वर्षीय अमृत सिंहको कम्युनिस्ट कार्यकर्ताले हत्या गरेका छन् ।
सिंहको घाँटीमा खुडा प्रहार गरी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।
मंगलवार स्थानीय बान्नीचौर माविको विद्यालय व्यवस्थापन समितिको चुनावमा कांग्रेस प्यानलले जितेको घोषणा भएको केहीबेरपछि अमृत सिंहको हत्या भएको जनाइएको छ ।
चुनावमा नेपाली कांग्रेसबाट लोकेन्द्र बहादुर रोकायाको प्यानल र नेकपाबाट गजेन्द्र बहादुर धामीको प्यानलबीच प्रतिस्पर्धा भएको थियो । शिक्षक अभिभावक संघका लागि कांग्रेसका सुरेश रोकाया र नेकपाका कल्याण बोहराबीच प्रतिस्पर्धा भयो ।
चुनावपछि विद्यालय व्यवस्थापन समितिमा कांग्रेसका लोकेन्द्र बहादुर रोकायाको प्यानल र शिक्षक अभिभावक संघमा पनि कांग्रेसका सुरेश रोकायाले जितेपछि कम्युनिस्टहरू आत्तिए । ‘कांग्रेसको प्यानल जितेको भन्दै चुनाव सकिएपछि खुडा प्रहार गरी हत्या गरिएको हो,’ मृतकका आफन्त सचिन सिंहले भने ।
मृतक अमृत सिंहको घाँटीमा खुडा हानिएको र उनको घाँटी २ इन्च मात्रै बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छबिसपाथिभेरा गाउँपालिकाका–२ का वडाध्यक्ष विकास अयडी, उनका भाइ प्रकाश अयडी, सोही ठाउँका केदार कठायत र ज्ञानबहादुर कठायतलाई पक्राउ गरेको छ ।
प्रहरीले मोटरसाइकलसहित वडाध्यक्ष अयडीलाई सदरमुकाम चैनपुरको होटलबाट मंगलवार राति पक्राउ गरेको छ भने ज्ञानबहादुर कठायतलाई मंगलवार नै घटनास्थलबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
हत्या अभियोग लागेका अर्का अभियुक्त प्रकाश अयडी र केदार कठायतलाई बुधवार थलारा गाउँपालिका–३ जाम्बाँझबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रुपक खड्काले बताएका छन् ।
मृतकका आफन्तले अर्को वडाबाट आएका व्यक्तिहरूले हत्या गरेको आरोप लगाएका छन् । ‘विद्यालय जस्तो पवित्र संस्थाको चुनावमा अर्को वडाबाट आएर प्रचारप्रसार र गुण्डागर्दी गरिएको थियो, मतगणनाका बेला पनि वडाध्यक्ष विकास अयडीले विवाद गरेका थिए,’ मृतकका आफन्त सचिन सिंहले भने ।
घटनास्थलबाट वडाध्यक्ष विकास अयडीको से१प ७६१ नम्बरको सरकारी नम्बर प्लेटको गाडी बरामद भएकाले प्रहरीले उनलाई पनि पक्राउ गरेको छ । प्रहरीले हत्यामा वडाध्यक्षका भाइ प्रकाश अयडी, सोही ठाउँका केदार कठायत र ज्ञानबहादुर कठायतको संलग्नता खुलेको जानकारी दिएको छ ।
मृतक अमृत सिंह नेपाल तरुण दल छबिसपाथीभेरा गाउँपालिकाका सदस्य हुन् । उनको शव जिल्ला अस्पताल बझाङमा राखिएको छ । बुधवार नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहित कांग्रेसका भातृ संगठनले चैनपुर बजारमा प्रदर्शन गरेका छन् ।
कांग्रेसका भातृ संगठनले सदरमुकाममा टायर बाल्दै नाराबाजी गरेका छन् भने चैनपुरको यातायात र बजार समेत बन्द गराएका छन् । पीडित परिवारले हत्याका आरोपीलाई कडा कारवाहीको माग गर्दै प्रर्दशन गरेको छ ।
नेपाली कांग्रेसका पूर्व सभापति पृथ्वीबहादुर सिंहले राजनीतिक आवरणमा भएको हत्यामा संलग्नलाई उम्काउन प्रयास हुने आशंका व्यक्त गरेका छन् । ‘सत्ता र शक्ति प्रयोग गरेर अपराधीलाई उम्काउने प्रयास हुनसक्छ, अपराधीलाई कडा कारवाही हुनुपर्छ,’ सिंहले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।