काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेर बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेपछि सर्वत्र विरोध भइरहेको छ । तर ओली पक्षीय नेकपा नेता सुवासचन्द्र नेम्वाङ चुइँक्क बोलेका छैनन् ।
नेम्वाङ तत्कालीन संविधानसभा अध्यक्ष समेत भएकाले उनको बोलीको अर्थ हुन्छ । संविधान बनाउँदा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार दिइएको छ/छैन भनेर उनको धारणा महत्त्वपूर्ण हुन्छ । तर ओलीले संसद विघटन गरिदिएपछि नेम्वाङ चुपचाप छन् ।
नेम्वाङ अहिले चुपचाप भएपनि उनले पहिल्यै बोलेको बोली भाइरल भयो । नेम्वाङले प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रावधान अहिलेको संविधानमा नरहेको भनेर व्यक्त गरेको धारणा भिडियोसहित भाइरल भयो ।
नेम्वाङको त्यो सामाजिक सञ्जाल र जनस्तरमा मात्रै नभएर सर्वाेच्च अदालतमा समेत टिपोट भइसकेको खुलासा भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधबारको संवैधानिक इजलासको बहसका क्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानमा भएको संसद विघटनको व्यवस्थाबारे दिएको अभिव्यक्ति टिपोटमा भइसकेको खुलासा गरेका छन् ।
अदालतको संवैधानिक इजलासमा संसद विघटनविरुद्ध रिट परेपछि बहस जारी छ । बहसकै क्रममा नेम्वाङको बोलीको प्रसंग यसअघि नै अधिवक्ताहरूले उदृत गरेपनि इजलासमा टिपोट भइसकेकोबारे जानकारी दिइएको थिएन । तर बुधबार प्रधानन्यायाधीश जबराले नेम्वाङको बोली टिपोट भइसकेको खुलासा गरेका हुन् ।
बुधबार बहस गर्दै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले संविधानसभा अध्यक्ष नेम्वाङले बोली फेरेको बताएपछि प्रधानन्यायाधीश जबराले ‘त्यो कुरा आइसकेको छ, हामीले टिपोटमा राखेका छौं’ भनेर जानकारी दिएका छन् ।
संविधानसभा अध्यक्ष नेम्वाङले विगतमा नयाँ संविधानको विशेषताबारे धारणा राख्दा सरकार बन्ने विकल्प हुँदासम्म संसद विघटन हुन नसक्ने व्यवस्था राखिएको अभिव्यक्ति दिएका थिए । तर हाल नेम्वाङले संसद विघटनबारे सर्वोच्चको फैसलापछि मात्र धारणा सार्वजनिक गर्ने बताउँदै आएका छन् ।
वरिष्ठ अधिवक्ता केसीले अहिले धेरै नेपाली संसद विघटनको विरोधमा रहेको र संविधान असफल हुने चिन्ता भइरहेको बताएका छन् ।
तर प्रधानन्यायाधीश जबराले केसीलाई रोक्दै भने, ‘बाहिर के भइरहेको छ, छोडिदिनुस्, यो मुद्दा लम्बिँदै गयो भने बाहिर यस्तो क्रियाकलाप अझै बढ्छ । त्यसकारण यहीँभित्र केन्द्रित होऔं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।