काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटकका सम्बोधनमा संसदले सहयोग नगरेका कारण विघटन गरेको दाबी गर्दै आएका छन् ।
सभामुख अग्नि सापकोटाले संसदमा दर्ता गराएका विधेयक अगाडि नबढाएको र असहयोग गरेको ओलीले बताउने गरेका छन् । तर सभामुख सापकोटा भने ओलीको आरोपविरुद्ध प्रमाणसहित प्रस्तुत भएका छन् ।
आज सोमबार अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले बर्खे अधिवेशनले नेपालको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सर्वसम्मत रूपमा संविधान संशोधन गरेको स्मरण गरेका छन् । ओली सरकारको प्रस्तावमा सबै दलको सहमतिमा सर्वसम्मत संविधान संशोधन भएको थियो । सर्वसम्मत संविधान संशोधनलाई सभामुख सापकोटाले सरकारलाई संसदले सहयोग गरेको प्रमाणको रूपमा प्रस्तुत गरेका छन् ।
संविधान संशोधन गर्दा संसदमा अभुतपूर्व एकता देखिएको बताउँदै सापकोटाले भने, ‘कुनै दिन पनि न त्यहाँ नारा लाग्यो, न वेल घेर्ने काम भयो । सहयोग भएन, त्यहाँ अलिकति अराजकता भयो भन्ने जो कुरा आइरहेको छ त्यो सत्यमा आधारित छैन । चाहे नीति कार्यक्रम पास गर्ने कुरामा होस्, चाहे बजेट पास गर्ने कुरा होस् । हरेकमा प्रतिनिधि सभाले सहयोग नै गरेको छ, कार्यपालिकालाई कहिले पनि असहयोग गरेको छैन ।’
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गर्नुको कारणमा संसदको असहयोग बताउँदै आएका छन् ।
सभामुखले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने माग गर्दै अन्तर पार्टी महिला सञ्जालले सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । संसद विघटन असंवैधानिक भएकाले अन्य विभिन्न क्षेत्रबाट समेत सभामुख सापकोटाले संसद बोलाउनुपर्ने माग उठ्दै आएको छ ।
ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले सञ्जालको मागप्रति गम्भीर रहेको प्रतिक्रिया दिए । संसद विघटनको विवाद सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको छ ।
‘सञ्जालले जस्तै संविधानविद्, कानूनविद्, राजनीतिक पार्टीका नेताहरू सबैले संसद सुचारु हुनुपर्छ भन्ने आवाज उठाइरहेका छन्,’ उनले भने, ‘मैले परिस्थितिलाई धेरै गम्भीरतापूर्वक, जिम्मेवारीपूर्वक अध्ययन, विश्लेषण गरिरहेको छु ।’
ओलीले संसद विघटन गरेका बेला सभामुखलाई नै संसद बोलाउन माग गर्न थालिएपछि अब के हुन्छ भनेर चासोका साथ हेरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।