काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश सरकारमा देखिएको संकटसँगै कांग्रेसले नेकपा प्रचण्ड–नेपाल पक्षले दर्ता गराएको अविश्वास प्रस्तावको पक्षमा मत हाल्ने खुलासा गरेका छन् ।
मोरङको विराटनगरमा शनिवार पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले कांग्रेस प्रतिपक्षी भएकाले सत्ताधारी केपी शर्मा ओली पक्षको विपक्षमा बस्ने प्रतिपक्षीको धर्म निर्वाह गर्ने बताएका छन् ।
१ नम्बर प्रदेश र बागमती प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री क्रमशः शेरधन राई र डोरमणि पौडेलविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । यस्तो बेला कांग्रेसले प्रचण्ड–नेपाल पक्षमा मतदान गर्ने खुलासा नेता पौडेलले गरेका छन् ।
बागमती प्रदेशमा अविश्वासको प्रस्ताव प्रदेश सभामा टेबुल भइसकेको छ भने १ नम्बर प्रदेशमा बुधवार हिउँदे अधिवेशन सुरू भएर अनिश्चितकालका लागि सदन स्थगित गरिएको छ । ‘केन्द्र र प्रदेश दुवै ठाउँमा कांग्रेसले प्रतिपक्षीको धर्म निर्वाह गर्नेमा शंका गर्नुपर्दैन,’ नेता पौडेलले भने, ‘प्रदेश सभामा अविश्वासको प्रस्ताव आएपछि सत्ताधारीको विपक्षमा कांग्रेसले भोट हाल्छ ।’
नेपाली कांग्रेसले प्रदेश सभामा अविश्वासको पक्षमा मतदान गरेपछि मुख्यमन्त्री राई र बागमती प्रदेशका मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वास प्रदेश सभामा सिद्ध हुने र पदमुक्त हुने अंकगणित रहेको छ । पौडेलले कांग्रेसका लागि यतिबेला दोहोरो संकट आएको बताएका छन् । ‘देशको संविधान जोगाउनुका साथै पार्टीको महाधिवेशन गरेर विधान जोगाउने चुनौती छ,’ पौडेलले भने ।
पार्टी सभापति शेरबहादुर देउवा पनि महाधिवेशन गराएर पार्टीको विधान र संविधान जोगाउने पक्षमा रहेका पौडेलले बताएका छन् । ‘पार्टी सभापति देउवाजीले बाहिर कता के–के बोल्नुभयो तर उहाँ संविधान जोगाउन र पार्टी महाधिवेशनको पक्षमा हुनुहुन्छ,’ पौडेलले भने, ‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र सर्वसत्तावादको बाटो लिएकाले सच्चिनु पर्ने पार्टीले निर्णय गरिसकेको छ ।’
पार्टीको निर्णयविरुद्ध कोही दायाँबायाँ नजाने विश्वास पौडेलले व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको निर्णयले पार्टीमा २ वटा लाइन नभएको स्पष्ट भएको पौडेलले बताएका छन् । ‘कांग्रेस संविधान बचाउन चाहन्छ तर निर्वाचन बहिष्कारवादी होइन,’ पौडेलले भने, ‘कांग्रेसले संविधानमा टेकेर निर्वाचनमा जान चाहन्छ ।’
अदालतको फैसला अत्यन्तै धैर्यका साथ पर्खेर बसेको पौडेलले बताएका छन् । ‘राष्ट्र जोगाउने एउटा मात्रै आधार सर्वोच्च अदालतका न्यायमूर्ति हुनुहुन्छ भन्ने अपेक्षा छ,’ पौडेलले भने, ‘राष्ट्रलाई बर्बादीतर्फ, बिग्रह, हिंसा र अफगानिस्तानको बाटोमा जान नदिने सबैको धर्म हो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।