काठमाडौं – विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले शुक्रवार काठमाडौंमा आफूविरुद्ध शक्ति प्रदर्शन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको केही घण्टामा जवाफ दिएका छन् ।
ओलीले शुक्रवारको शक्ति प्रदर्शनलाई सामान्य भनेका छन् । आजै शुक्रबार काठमाडौंको बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ हामी २३ गते गरेर देखाउँछौं ।’
प्रचण्ड–नेपाल पक्षले गरेको सभालाई व्यंग्य गर्दै उनले भने, ‘खुट्टी देखेरै पत्याइयो । उहाँहरूको सभामा हामीभन्दा अलिकति बढी मान्छे रहेछ, देशभरबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’
ओलीले संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिन समेत चेतावनी दिएका छन् ।
शुक्रबारको विरोध कार्यक्रममा प्रचण्डले सर्वाेच्च अदालततिर लक्षित गर्दै देशलाई बर्बाद पार्न कसैले पनि भूमिका खेल्न नहुने अभिव्यक्ति दिएका छन् ।
ओलीको निरंकुश कदमलाई अदालतबाट सही ठहर्याउने काम भयो भने शान्ति प्रक्रिया डिरेल हुने चेतावनी प्रचण्डले दिए । ‘यो देशलाई बर्बाद पार्न भूमिका नखेलौं,’ उनले भने ।
कार्यक्रममा प्रचण्डले ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेकामा आत्मालोचना गरे । उनले वाम गठबन्धनको घोषणा अनुसार काम गर्न नसकेको समेत स्वीकार गरे ।
‘प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको देखियो,’ प्रचण्डले भने, ‘केपी ओलीलाई तह लगाउन सकेनौं । यसमा हाम्रो पनि कमजोरी रह्यो ।’
प्रचण्डले थपे, ‘केपी ओलीलाई मात्र दोष दिएर हामी चोखै हुन्छौं भन्ने लागेको छैन । अब केपी प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भूल गर्ने छैनौं । त्यसो गरेर फाइदा हुने रहेछ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।