काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वत्र आलोचना भइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन व्यापक समर्थन जुटिरहेको छ ।
विघटित प्रतिनिधि सभाको तेस्रो ठूलो शक्ति जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केही दिनअघि अब शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरेको केही दिनपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत देउवालाई समर्थन जनाएका छन् ।
ओलीले संसद विघटन गरेको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले अदालतले संसद पुनःस्थापना गरेमा तुरुन्तै देउवा प्रधानमन्त्री हुने संकेत देखिएको छ । विभाजित कांग्रेस, नेकपा र जसपाका बहुमत सांसदको समर्थनमा देउवा प्रधानमन्त्री बन्ने देखिएको छ ।
मंगलबार साँझ प्राइम टाइम टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न सकिने बताएका छन् ।
अन्तर्वार्तामा प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने शर्त राखेका छन् ।
प्रचण्डले भने, ‘शान्ति प्रक्रियाको पहिलो अपिलकर्ता म र शेरबहादुर देउवाजी नै हो । त्यो नाताले पनि एउटा केही न केही सम्बन्ध छ । संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने शर्तमा म उहाँलाई प्रधानमन्त्री वा उहाँले कोही भन्नुहुन्छ भने त्यसलाई पनि मान्न मलाई केही आपत्ति छैन ।’
प्रचण्डले हिजो पनि सहमति गरेर देउवालाई प्रधानमन्त्री स्वीकारेको स्मरण गरेका छन् । ‘शेरबहादुरजी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो । उहाँले भनेकै अनुसार समझदारी अनुसार समयमा नै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो,’ उनले भने ।
अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्री पदमा आफ्नो कुनै दाबी नरहेको समेत स्पष्ट पारे । ‘नेकपाको संसदीय दलको नेता म पक्कै पनि हुँ तर यसको अर्थ म प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन । प्रधानमन्त्री केपी ओलीले देशलाई डरलाग्दो संकटको भुमरीमा हाल्दिनुभा’छ । यसबाट बचाउनु छ । मुख्य काम संविधान बचाउने, प्रणाली बचाउने र जनताको आकांक्षालाई सम्बोधन गर्ने कुरा हो । त्यसको निम्ति फेरि पनि प्रधानमन्त्री म दाबी गर्दिनँ मैले भनेको छु,’ अध्यक्ष प्रचण्डले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।