काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि प्रहार गरेकोले आक्रामक हुनुपर्ने उर्दी जारी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘केपी ओलीजीले ठूलो षड्यन्त्र गरेका छन् । संविधानमाथि प्रहार भएको छ । हामी आक्रामक हुनुपर्ने देखिएको छ । असंवैधानिक रूपमा संसद विघटन गरिएपछि हामी पक्कै पनि गम्भीर स्थितिमा छौं । हाम्रो आन्दोलन पनि आवेग र आक्रोशका साथ अलिकति जुझारु हुन जरुरी छ ।’
प्रधानमन्त्री ओलीमा रहेको प्रवृत्ति आफूहरुमा पनि केही देखिएजस्तो रहेकाले अपरेसन गर्नुपर्ने अवस्था रहेको बताए । ‘तपाईंको रोग हामीभित्र पनि सर्न लागेको हो कि भन्ने डर छ । मेजर अपरेसन गर्नुपर्ने देखिएको छ । गलत मान्छेसँग बस्दा हामीलाई पनि अलिकति संक्रमण भएको छ । केपी प्रवृत्तिको अपरेसन गर्नुपर्ने छ,’ प्रचण्डले भने ।
गणतन्त्रको उत्सव मनाउँदा ओली रोइरहेको भन्दै प्रचण्डले संघर्षबाट प्राप्त उपलब्धिको हत्या गरेर ओली हाँसिरहेको बताए । ‘त्यो बेला गणतन्त्र आउँदै थियो, हामीलाई उत्सव थियो । देशवासीलाई उत्सव थियो । त्यस्तो बेला बयलगाडाको कथा हाल्दै हिँड्नुभयो । गणतन्त्र आउन लाग्यो भनेर रुँदै हिँड्नुभयो,’ उनले भने ।
संविधानको मूल मर्ममाथि प्रहार भएको बेला आफूहरू रमाइलो गर्न नसक्ने उनले बताए । ४ दशकको संघर्षबाट प्राप्त उपलब्धिको संकेन्द्रित अभिव्यक्ति संविधान भएको प्रचण्डले बताएका छन् । ‘मैले हसाएँ भनेर किन पीर पर्या होला भनेर केपी ओलीले मलाई नै भन्नुभएको हो । संघर्षबाट प्राप्त उपलब्धिको हत्या भएको छ । जन्ती जाँदा रुँदै जाने र मलामी जाँदा हाँस्दै हिँड्ने हामी केपी ओली जस्तो होइनौं । हामी मलामी जाँदा चिन्ता गरेरै हिँड्छौं र जन्ती जाँदा हाँस्ने गरेरै हिँड्छौं । हामी त्यस्ता स्वभाविक मान्छे हौंं । तर उहाँ अस्वाभाविक हुनुभएको छ । हामी मजाकको मूडमा छैनौं,’ उनले भने ।
प्रधानमन्त्री ओलीले भनेको कुरा नगर्ने र नभनेको कुरा गर्ने गरेको प्रचण्डको आरोप छ । ‘उहाँ जे भन्नुहुन्छ त्यो गर्नुहुन्न । म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भनेर उहाँ भन्नुहुन्छ । योभन्दा भ्रष्टाचार विरोधी अर्को अभिव्यक्ति हुन्न तर भ्रष्टाचारीलाई बचाउन र जनतालाई मूर्ख बनाउन अघि सारिएको अभिव्यक्ति हो यो,’ उनले भने ।
खुलेआम भ्रष्टाचार भयो भनेर विरोध गर्दा न्यायाधीशजस्तो बनेर ओलीले सफाइ दिने गरेको आरोप उनले लगाए । ‘खुलेआम भ्रष्टाचार भयो भन्दा तपाईं न्यायाधीश टोपलिएर आफैंले संरक्षण गर्ने ? होइन उहाँ त भ्रष्टचारी भन्ने ? अख्तियार र अदालतमा मुद्दा परेका मानिसलाई सफाइ दिँदै तपाईं किन हिँड्दै हुनुहुन्छ ?’ प्रचण्डले प्रश्न गरे ।
प्रचण्डले संसद विघटनसम्बन्धी मुद्दाको निर्णय अदालतले संविधानको अक्षर र भावनालाई हेरेरै गर्ने पनि विश्वास व्यक्त गरेका छन् । ‘संसद विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । यसबारे म धेरै भन्न चाहन्न तर अदालतले संविधानको अक्षर र भावनालाई हेरेर निर्णय गर्छ भन्ने हामीलाई विश्वास छ,’ प्रचण्डले भने ।
दुईतिहाइ केन्द्रीय कमिटी आफूहरूतिर रहेकाले नेकपा र सूर्य चिह्न आफूहरूले नै पाउने दाबी उनले गरे । ‘नेकपा हाम्रो हो र सूर्य चिह्न पनि हाम्रै हुनेछ । यो विषयमा तपाईंहरू द्विविधामा बस्नुपर्दैन,’ प्रचण्डले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।