काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आफ्ना पूर्व कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बन्ने आइडिया सिकाएका छन् ।
नेकपा ओली पक्षीय जिल्ला भेलालाई शनिवार सन्धिखर्कमा सम्बोधन गर्दै मन्त्री रायमाझीले आगामी बैशाखमा हुने निर्वाचनमा सहभागी भएर बहुमत ल्याई प्रधानमन्त्री बन्न सकिने उपाय प्रचण्डलाई बताएका हुन् ।
प्रचण्डले प्रधानमन्त्री, माधव नेपालले पार्टी अध्यक्ष र झलनाथ खनालले राष्ट्रपति कसरी हुने भन्नेबाहेक पार्टी र जनताप्रति कहिल्यै नसोचेको जिकिर नेता रायमाझीले गरे । निर्वाचनमा गए जनताले नपत्याउने ठान्दै सडकमा ‘हामी यहाँ छौं’ भन्दै रोइलो गरेको आरोप उनले लगाए ।
‘सरकारलाई सफल पार्ने, देशलाई समृद्धितर्फ लैजाने पार्टी एकता मजबुत बनाउने चिन्ता कहिल्यै भएन,’ उनले भने, ‘खाली ओलीलाई अपदस्थ गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने लोभ गरेर ३ वर्ष समय बिताए ।’
एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड र माधव नेपालका कारण विभाजनको संघारमा पुगेको आरोप उनले लगाए । मन्त्री रायमाझीले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारलाई अविश्वासको प्रस्ताव ल्याई सडकमा पुर्याउँछु भन्दा प्रचण्ड–नेपाल आफैं सडकमा पुगेको दाबी गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड र माधव नेपालले सूर्य पनि नपाउने, नेकपा पनि नपाउने दावी गरे । उनले पार्टीभित्र बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको समेत दाबी गरे । प्रचण्डको ढाडमा टेकेर टाउको हान्ने रणनीति अनुसार माधवको ढाड टेकेर पार्टी अध्यक्ष ओलीको टाउको हान्दा खोज्दा सडकमा जानुपरेको नेता पोखरेलले बताए ।
सरकार गठन हुनुदेखि नै प्रचण्ड, नेपाल पार्टी अध्यक्षलाई कमजोर बनाउन तानावाना बुनी अन्तिम विकल्पको रूपमा कांग्रेसको केही समूहसँग मिलेर अश्विासको प्रस्ताव दर्ता गर्न खोज्दा प्रधानमन्त्रीले जनतामा जाने निर्णय गर्नुपरेको स्पष्ट पारे । ५ वर्षसम्म रहने प्रतिनिधिसभा ३ वर्षमा विघटन गर्नुपरेको भन्दै प्रतिनिधिसभा विघटनले परिवर्तनका एजेन्डा गणतन्त्र संघीयता केही नगुम्ने बताए ।
चुनाव रोक्न निर्वाचन आयोग धाउने प्रचण्ड र माधवलाई निर्वाचनमा विश्वास नभएको बताउँदै जनताले मत नआउने स्थिति आकलन गरेर जनताभन्दा सडक प्यारो लागेको टिप्पणी गरेका छन् ।
अभियोगपत्र फिर्ता र निर्वाचनमा जाने सहमति गरे प्रचण्ड र नेपालसँग सहकार्य गर्न सकिने उनले बताए । संसद पुनर्स्थापना नहुने भन्दै उनले निर्वाचनको तयारीमा लाग्न कार्यकतालाई निर्देशन दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।