काठमाडौं – संयुक्त आन्दोलन गर्ने प्रस्ताव बोकेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सकारात्मक जवाफ पाएनन् ।
सभापति देउवाले नेकपा आधिकारिक रुपमा विभाजित नभएको, कम्युनिस्टहरू जतिसुकै बेला पनि मिल्नसक्ने जवाफ दिए । देउवाको जवाफबाट झस्किएका अध्यक्ष माधवकुमार नेपाल उनलाई फकाउने रणनीतिमा लागेका छन् ।
अध्यक्ष नेपालले फेरि केपी शर्मा ओलीसँग मिल्ने कुनै सम्भावना नरहेको खुलेआम अभिव्यक्ति दिएका छन् । शुक्रपार संविधान निगरानी समूहले आयोजना गरेको प्रतिनिधिसभा विघटन संवैधानिक व्यवस्था र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूलाई कतिपयले फेरि ओलीसँग मिल्नसक्ने आशंका गरेको तर त्यसको कुनै सम्भावना नरहेको स्पष्ट पारे ।
कांग्रेस सभापति देउवाले आशंका व्यक्त गरेका थिए । ‘कतिपयको मनमा आशंका छ, कतै यिनीहरू फेरि मिल्ने त होइनन् ? हामी सबै अप्ठ्यारोमा पर्ने त होइनौं ? तर ढुक्क हुनुहोस्, यसको कुनै सम्भावना छैन,’ अध्यक्ष नेपालले भने, ‘केपी ओलीजी भाँचिन तयार हुनुहुन्छ, झुक्न तयार हुनुहुन्न । केपी ओली भनेको दम्भको एउटा प्रतीक हुनुहुन्छ । उहाँ अहंकारको अर्को संस्करण हुनुहुन्छ । सत्ताको दुरुपयोग गर्ने उहाँको निरंकुश प्रवृत्तिले गर्दा उहाँलाई यो ठाउँमा पुर्याएको हो ।’
अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको ‘आफू नै राष्ट्र हुँ’ भन्ने सोचका कारण समस्या उब्जिएको पनि बताए । ‘आइ एम द स्टेट, आइ एम द पार्टी एण्ड एभब द पार्टी, आइ एम एभब द ल भन्ने मानसिकताले उहाँलाई यो ठाउँमा पुर्याएको हो । त्यस्तो प्रवृत्तिलाई हामीले छुट दिने हो भने यो देशमा फेरि यस्तै प्रवृत्तिको व्यक्ति जन्मिनेछन्,’ अध्यक्ष नेपालले भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन गरेर बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरिएको छ । संसद विघटनपछि विभिन्न राजनीतिक दलले आन्दोलन गरिरहेपनि संयुक्त आन्दोलन हुन सकेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।