काठमाडौं - दोस्रो जनआन्दोलनका बेला वर्तमान प्रधानमन्त्री एवं तत्कालीन एमालेका नेता केपी ओली भन्ने गर्थे, ‘नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडामा चढेर अमेरिका गए जस्तै हो ।’ तर, उनले त्यसो भन्दै गर्दा नेपालमा राजतन्त्रविरोधी आन्दोलन उत्कर्षमा पुग्यो र देशमा गणतन्त्र स्थापना भयो ।
अहिले त्यही गणतन्त्र मास्न ओली कस्सिएर लागेका छन् । छँदाखाँदाको बहुमतको प्रतिनिधिसभा भंग गरेर उनले निर्वाचनको घोषणा गरेका छन् । जुन मुद्दामा अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
जतिबेला देशमा गणतन्त्र ल्याउनुपर्छ भनेर आन्दोलनमा होमिने कानुन व्यवसायीहरू थिए, ती सबै अहिले प्रधानमन्त्री ओलीको कदमविरुद्ध लागेका छन् । जतिबेला गणतन्त्र ल्याउन हुन्न भन्दै राजा ज्ञानेन्द्रको शाही सत्तालाई साथ दिने वकिल थिए, ती सबै अहिले प्रधानमन्त्री ओलीको बचाउमा लागेका छन् । अर्थात् असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा भंग संविधानसम्मत भएको भन्दै ओलीको पक्षमा बहस गरिरहेका छन् ।
यसैमध्येमा पर्छन् सुरेन्द्र भण्डारी, बालकृष्ण नेउपाने, विष्णु भट्टराईलगायत । भण्डारी अहिले देशमा राजसंस्था पुनःस्थापना गर्नुपर्छ भन्ने अभियानका नेतृत्वकर्ता हुन् । उनी गणतन्त्र र संघीयता खारेज गर्नुपर्ने पक्षमा अभियानमा लागेका छन् । तिनै भण्डारी अहिले ओलीका सल्लाहकार भएका छन् ।
हुन त ओलीका विश्वासपात्र गोकुल बास्कोटादेखि महेश बस्नेत, निरु पाल, ऐन महरलगायत सबै अहिले संघीयता खारेज गर्नुपर्ने पक्षमा लागेका छन् । ओलीलाई उक्साइरहेका छन् । यस्तो अवस्थामा पूर्वराजाका सहयोगी भण्डारी, नेउपाने, भट्टराईलगायतले ओलीलाई साथ दिनुमा कुनै आश्चर्यको विषय नभएको धेरैको ठम्याइ छ । अहिले ओलीको कदम पनि संघीयता समाप्त पार्ने दिशातिर उन्मुख भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।