काठमाडौं – प्रतिनिधिसभा संसद विघटनसँगै २ पक्षमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरू आ–आफ्नै रणनीतिअनुसार अगाडि बढेका छन् ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष देशभर आवश्यक माहोल खडा गर्दै निर्वाचनको तयारीमा होमिएको छ भने नेकपाका माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष प्रतिनिधिसभा पुनःस्थापना गराउन पूर्व घोषित आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउने रणनीति बनाउँदैछ । यो पक्षले जसरी भए पनि निर्वाचन रोक्ने गरी आवश्यक गृहकार्य अघि बढाउने भएको छ ।
बिहीवार दुवै समूहको छुट्टाछुट्टै बसेको स्थायी कमिटी बैठकले आ–आफ्नै तयारीअनुसार आफ्ना एजेन्डालाई सफल बनाउने विषयमा छलफल गरेका छन् । ओली पक्षले त निर्वाचनलाई निर्धारित समयमा सम्पन्न गर्न आफ्ना सबै कार्यकर्तालाई गाउँगाउँमा परिचालन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहका स्थायी कमिटीको अनौपचारिक बैठकले सरकारले तोकेकै मितिमा निर्वाचन सम्पन्न गर्ने गरी आवश्यक तयारीमा जुट्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा यसअघि नै भइसकेको छ । निर्वाचन आयोग समेत निर्वाचनको पूर्व तयारीमा जुटिसकेको छ ।
हालसम्म देशैभर भएका प्रदर्शन, भेला, प्रशिक्षण तथा बैठकले पार्टीको पक्षमा सोचेभन्दा बढी जनलहर प्राप्त भएको निष्कर्ष निकाल्दै ओली पक्ष यस्ता कार्यक्रम निर्वाचनसम्म नै जारी राख्ने निष्कर्षमा पुगेको छ ।
छलफलमा सहभागी नेकपा स्थायी कमिटीका सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीले जारी प्रदर्शन, भेला, प्रशिक्षण तथा बैठकले प्राप्त जनलहरलाई निर्वाचनसम्मै जारी राख्ने निष्कर्ष निकालिएको बताएका छन् ।
‘प्रधानमन्त्रीज्यूले तोकिएकै मितिमा निर्वाचन हुने भएकाले त्यसको तयारीमा जुट्न निर्देशन दिनुभएको छ,’ नेम्वाङले भने, ‘अहिले जारी प्रदर्शन, भेला प्रशिक्षणले नेकपाको पक्षमा जनलहर प्राप्त भएको र यसलाई निर्वाचनसम्म कायम राख्ने निष्कर्ष छ ।’
यसैगरी छलफलमा पार्टी आधिकारिकता सम्बन्धी निर्वाचन आयोगमा भएको प्रगतिको विषयमा समेत समिक्षा भएको छ । ‘प्रधानमन्त्री ओलीले हामीलाई निर्वाचन आयोगमा भएको प्रगति, सर्वोच्चमा रहेको विचाराधीन मुद्दासहित अन्य विषयमा ब्रिफिङ गर्नुभयो र निर्वाचनलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने निर्देशन दिनुभयो,’ उनले भने ।
छलफलमा प्रधानमन्त्री ओलीले आफूहरु नै आधिकारिक नेकपा भएको र सूर्य चिह्न पनि आफूहरूले नै पाउने बताएका थिए । ‘हामी नै आधिकरिक हौं । प्रथम अध्यक्ष र महासचिव हामीसँग छ । विधानअनुसार प्रथम अध्यक्ष र महासचिव विना कसैले बैठक गर्न सक्दैन त्यसैले सूर्य चिह्न र नेकपा हाम्रै हो,’ प्रधानमन्त्री ओलीले भने ।
नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि जारी आन्दोलनलाई अझै सशक्त बनाउने निष्कर्ष निकालेको छ । पेरिसडाँडामा बसेको बैठकपछि नेकपा सचिवालय सदस्य एवं आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले बैठकले जारी आन्दोलनलाई थप सशक्त तथा प्रभावकारी बनाउने निष्कर्ष निकालेको बताएका छन् ।
‘प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेकाले पुनःस्थापना हुन्छ,’ उनले भने, ‘अहिले जारी दोस्रो चरणको आन्दोलनलाई थप सशक्त एवं प्रभावकारी बनाउने बैठकको निष्कर्ष छ ।’
प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक आज शुक्रबार दिउँसो पुनः बस्नेछ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।