काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट्न आउने भारतीय गुप्तचर ‘रअ’ प्रमुख सामन्त गोयलदेखि सेना, विदेश मन्त्रालय र भारतीय जनता पार्टी (बीजेपी) विदेश विभाग प्रमुखसम्मलाई सीमा समस्या हल गर्ने विषयमा कुरा राखेको भनेर प्रचार गर्ने गरिएको छ ।
भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा सीमा अतिक्रमण गरेको बताउँदै नेपालले संविधान नै संशोधन गरिसकेको छ । प्रधानमन्त्री ओलीले नेपाली भूमि नै फिर्ता गर्ने बताउँदै आएका छन् ।
यसैक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार भारतको नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री ओलीको विशेष सन्देश बोकेर विशेष दूतका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने योजनामा रहेका मन्त्री ज्ञवालीलाई भारत पुगेको केही घण्टामा झड्का लागेको देखिएको छ ।
भारत जाने तयारीमा रहेका बेला मन्त्री ज्ञवालीले परराष्ट्र मन्त्रालयबाट प्रेस विज्ञप्ति जारी गराउँदै भारत भ्रमणका क्रममा सीमा समस्याबारे समेत नेपाल–भारत संयुक्त आयोगको बैठकमा छलफल हुने सार्वजनिक गराएका थिए । सीमाको विषयलाई भारतसँग उठाएको प्रचार गरेर राष्ट्रवादी छविलाई प्रवद्र्धन गर्ने योजना रहेपनि भारतले सीमाबारे छलफल गर्न अस्वीकार गर्ने संकेत गरेको छ ।
परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली पुगेको केही घण्टामै भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अनुराज श्रीवास्तवले सीमा सम्बन्धी विषयमा बैठकमा छलफल नहुने संकेत गरे । नेपालले भने सीमाको विषयलाई एजेन्डाको रूपमा प्रचार गरेको छ ।
प्रवक्ता श्रीवास्तवले भने, ‘सीमा विवादको बारेमा हाम्रो अडान स्पष्ट छ । जेसीएम (संयुक्त आयोग) र बाउन्ड्री वार्ता दुवै पृथक संयन्त्र हुन् ।’ भारतले कालापानी र सुस्ताको विषयमा वार्ता गर्नका लागि सन् २०१४ मा दुई देशका परराष्ट्र सचिवस्तरीय संयन्त्रको गठन भएको र त्यसैले छलफल गर्ने बताउने गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।