काठमाडौं – संघीय संसद् सचिवालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सदस्यले पार्टीलाई बुझाउने शुल्क (लेभी) कटौती नगरी पारिश्रमिक जम्मा गरिदिएको छ ।
कानूनी रूपमा बाहेक पार्टी विभाजित भएपछि असन्तुष्ट पक्षका सांसदले ‘लेभी’ नकाट्न सचिवालयमा निवेदन नै दिएका थिए ।
निवेदनपछि सचिवालयले नेकपाका सबै सदस्यको लेभी रकम समेत सांसदकै खातामा जम्मा गरिदिएको छ । यसअघि सचिवालयले समन्वय गरेर लेभी बापतको शुल्क पार्टीले तोकेको खातामा जम्मा गर्ने गरिएको थियो ।
दल विभाजनको संघारमा पुगेपछि पार्टीमा असन्तुष्ट रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका सांसदले लेभी पार्टीको खाता जम्मा नगर्न सचिवालयको लेखा शाखामा निवेदन दिएका हुन् । निवेदन प्राप्त भएपछि सचिवालयले सबै सांसदकै लेभी तलबी खातामा नै पठाइदिएको छ ।
मंगलवार सदस्यहरुको पारिश्रमिक बैंकमा जम्मा गर्न पठाइएको छ । पुस महिनाको पारिश्रमिक जम्माका लागि पठाइएको हो । प्रतिनिधिसभा सदस्यले भने विघटन भएको दिनसम्म (५ दिन) को मात्र पारिश्रमिक पाउने छन् ।
‘हामीले लेभीको रकम पार्टीले दिए अनुसारको खातामा जम्मा गर्न प्रयोजनका लागि समन्वय मात्र गर्दै आएका थियौं । तर १८–१९ जना सांसदले नै लेभी पार्टी खातामा जम्मा नगर्न निवेदन दिनुभयो । हामीले सचिवालयमा आवश्यक परामर्श गरेर उहाँहरुले पाउने एकमुष्ठ पारिश्रमिक सांसदकै खातामा जम्मा गरिदिएका हौं । आजै पारिश्रमिक जम्माका लागि पठाइएको छ,’ संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले भने ।
सत्तारुढ नेकपा एकीकृत भए पनि पार्टीका आर्थिक कारोबार एकीकृत भएका थिएनन् । दुवै पार्टीले फरक–फरक बैंक खाता नै सञ्चालन गर्दै आएका थिए । वार्षिक लेखा परीक्षणसमेत फरक हुँदै आएको थियो । हाल मूल नेकपासँग असन्तुष्ट रहेका सांसदको रकम पूर्व एमालेबाट सञ्चालित खाता पठाइने भएकाले सांसदहरुले लेभी रोक्न माग गरेका थिए ।
निवेदनपछि सचिवालयले नेकपाका सबै सांसदको लेभी कट्टी नगरेको हो । दल एकीकृत भए पनि केही समयसम्म दुवै दलको फरक फरक लेबी शुल्क थियो । दलका कार्यालय समेत फरक स्थानमा नै थिए ।
तत्कालीन नेकपा एमालेले सांसदसँग १३ हजार र माओवादी केन्द्रले १२ हजार रुपैयाँ लेभी असुल गर्ने गरेको थियो । सांसदहरुले दल एकीकृत भएपछि लेभीमा एकरुपता ल्याउनुपर्ने माग गरेपछि १२ हजार रुपैयाँ कायम भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।