काठमाडौं – कम्युनिस्ट सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आगामी बैशाखका लागि तोकिएको चुनावको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
नेपाल प्रहरीमा वरिष्ठ प्रहरी उपरीक्षकबाट नायब महानिरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै थापाले चुनावको तयारीमा जुट्न निर्देशन दिए ।
‘तपाईंहरुको क्षमतालाई विश्वास गर्दै सरकारले बढुवा गरेको छ । त्यो विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्,’ थापाले भने, ‘तपाईंहरुको काँधमा एकातर्फ निर्वाचनको लागि आवश्यक तयारी गर्ने र अर्कोतर्फ सम्भावित आन्दोलन नियन्त्रण गर्ने दायित्व आएको छ । लोकतन्त्रमा विरोध, प्रदर्शन गर्न पाइन्छ । तर शान्ति, सुरक्षा र सुव्यवस्थामा असर पार्ने गरी प्रदर्शन गर्न पाइँदैन ।’
गृहमन्त्री थापाले पछिल्लो समय सुरक्षा चुनौती बढेको जनाउँदै त्यसलाई सामना गर्ने गरी सुरक्षा योजना बनाउन निर्देशन दिए । ‘तपाईंहरूलाई कुनै कठिनाइ आइपरे गृह मन्त्रालय तपाईंहरूको साथ हुनेछ,’ थापाले भने ।
कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री लगायतको सहभागिता रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।