काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्माले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको किताबसहित ‘पार्सल’ पठाएका छन् ।
पार्सलमा संविधानको किताब, बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको फोटो, उपचार नपाएर रोगका कारण मृत्यु भएका धनुषाका राजु सदा र कीर्तिपुरको सडक पेटीमा शव भेटिएका धादिङका सूर्यबहादुर तामाङको फोटो प्रधानमन्त्री ओलीलाई शर्माले पठाएका जनाइएको छ ।
राजधानी काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रममा शर्माले पार्सलको सामग्री प्रधानमन्त्री ओलीसमक्ष पठाउन प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलाललाई हस्तान्तरण गरे । दुलालले आईतबार हुलाकमार्फत् पार्सल सामग्री प्रधानमन्त्री ओलीलाई पठाउने जनाइएको छ ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै निर्वाचन घोषणा गरेका थिए । असंवैधानिक र अलोकतान्त्रिक तरिकाबाट प्रतिनिधिसभा विघटन गरेको कदम सच्याउनुपर्ने भन्दै कांग्रेस आन्दोलित छ ।
प्रधानमन्त्री ओलीलाई संविधानले प्रतिनिधिसभा विघटनको अधिकार नदिएको भन्दै संविधान पढ्न शर्माले संविधानको किताब पठाएका हुन् ।
गत शुक्रवार धनगढीमा नेकपा ओली पक्षले गरेको कार्यक्रममा ‘निर्मला पन्तका हत्यारा खै ?’ लेखिएको टीसर्ट लगाएका युवालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको विरोध गर्दै प्रवक्ता शर्माले ओलीलाई निर्मलाको फोटो पठाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।