काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली पक्षले २ हजार २५० जनासम्मको केन्द्रीय कमिटी बनाउने गरी विधान संशोधन गरेको छ ।
तत्कालका लागि १ हजार ५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएर ओली समूहले थप ५० प्रतिशतसम्म थप्न सकिने गरी अन्तरिम विधान संशोधन गरेको हो ।
एकीकृत नेकपाको बहुमत पक्षले प्रचण्ड–नेपाल पक्षलाई साथ दिएको छ । केन्द्रीय कमिटीमा सदस्य थप्न सकिने विकल्प खुला राखिएकाले त्यसअनुसार पदपूर्ति हुँदै गए नेकपा ओली समूहको केन्द्रीय कमिटीको संख्या २ हजार २५० सदस्यसम्म पुग्न सक्ने जनाइएको छ ।
केन्द्रीय कमिटी थप्न सकिनेबारे प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पुस २२ गते आफ्नो पक्षलाई आन्तरिक सर्कुलर गरेर जानकारी गराइसकेका छन् ।
‘विधान संशोधन सम्बन्धमा केन्द्रीय कमिटीको तेस्रो बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तरिम विधान २०७५ मा दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजार ५०१ सदस्यीय भएको छ,’ अध्यक्ष ओलीले जारी गरेको आन्तरिक सर्कुलरको चौथो बुँदामा उल्लेख छ, ‘रिक्त पदाधिकारीमा मनोनयन गर्ने अधिकार अध्यक्ष कमरेडलाई दिँदै उक्त मनोनयन केन्द्रीय कमिटीले अनुमोदन गरेपश्चात् कार्यान्वयनमा जाने प्रबन्ध गरिएको छ ।’
विधानमा गरिएको संशोधनअनुसार ओलीले रिक्त रहेको पदाधिकारी मनोनयन गर्नेछन् । हालसम्म ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार खोस्नेबाहेक कुनै कारबाही नगरेकाले संशोधित विधानअनुसार प्रक्रिया पुर्याएर अर्को समूहमा रहेकाहरुको स्थानमा ओलीले अध्यक्ष वरिष्ठ नेता लगायत चयन गर्न सक्नेछन् । ओली पक्षको केन्द्रीय कमिटी बैठक पुस ७ र ९ गते प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको थियो ।
आन्तरिक सर्कुलरको छैटौं बुँदामा तत्काल कसैलाई कमिटीबाट नहटाउने तर आवश्यकताअनुसार बढीमा ५० प्रतिशतसम्म सदस्य संख्या मनोनयनका लागि गृहकार्य गर्ने उल्लेख छ । सर्कुलरअनुसार १ हजार ५०१ सदस्यीय केन्द्रीय कमिटीमा पनि कम्तीमा ७५० जना केन्द्रीय सदस्य थप्ने विकल्प खुला राखिएको छ ।
विधानको नयाँ व्यवस्था केन्द्र, प्रदेश, जिल्ला हुँदै तल्लो तहको कमिटीसम्म लागू भए ओली पक्षका सबै कमिटी सयौं संख्या रहेको ठूलो आकारको बन्ने सम्भावना छ । ‘तत्काल कसैलाई कमिटीबाट नहटाउने तर आवश्यकताअनुसार कमिटीमा बढीमा ५० प्रतिशतसम्म सदस्य संख्या मनोनयनका लागि गृहकार्य गर्ने,’ आन्तरिक सर्कुलरको छैटौं बुँदाको ‘घ’मा उल्लेख छ ।
गत पुस ७ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पन्न केन्द्रीय कमिटी बैठकले भने विधान संशोधन गर्दै साविक ४४६ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर १ हजार १९९ सदस्यीय बनाइएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए । तर पुस ९ गतेको केन्द्रीय कमिटी बैठकले त्यो संख्यामा ३०२ जना थप गरेर विधान संशोधन गरेपछि १ हजार ५०१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको सर्कुलरमार्फत जानकारी दिइएको छ ।
प्रचण्ड–नेपाल पक्षतिर रहेकालाई आकर्षित गर्न विधान संशोधन गरेपछि ओली समूहले प्रदेश, जिल्ला र क्षेत्रीयस्तरका साथै जनसंगठनका केन्द्र र जिल्लामा रहेका थुप्रैलाई केन्द्रीय सदस्य बनाएको छ । यसअनुसार प्रचण्ड–नेपाल पक्षको तुलनामा तत्कालै ओली पक्षको केन्द्रीय कमिटी ५ गुणासम्म ठूलो भएको छ । ओली पक्षले जम्बो केन्द्रीय कमिटी बनाएर आफ्ना समूहको कार्यकर्ता तानेपछि प्रचण्ड–नेपाल समूह भने दबाबमा परेको छ ।
प्रचण्ड–नेपाल समूहले भने संख्या बढाउनेभन्दा पनि ओली समूहतिर लागेर केन्द्रभन्दा तल प्रदेश, जिल्ला र जनसंगठनमा रिक्त पदाधिकारी चयनका लागि गृहकार्य गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गत पुस १९ गतेको स्थायी समिति बैठकबाट १२ सदस्यीय कार्यदल बनाएको छ । यो समूहले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीको संख्या नबढाउने गरी रिक्त संख्यामा मात्र पदपूर्ति लिने गरी अनौपचारिक गृहकार्य गरिरहेको छ ।
ओली पक्षको बैठकले आगामी मंसिर २ देखि ७ गतेसम्म पार्टीको महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको थियो । आन्तरिक सर्कुलरमा कमिटीका अध्यक्ष यस अभियानको पक्षधर रहेका कमिटीहरुको तत्काल बैठक बसी पार्टी कामलाई गतिशील बनाउन, कमिटीका अध्यक्ष यस अभियानको पक्षधर नभएको ठाउँमा सचिव भए उसैको अगुवाइमा, अन्यथा पार्टीका ज्येष्ठ या वरिष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी पार्टी कामलाई गतिशील बनाउन निर्देशन दिइएको छ । जनसंगठनको हकमा पनि त्यही प्रक्रिया लागू गर्न निर्देशन दिइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।