काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट छुट्टिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कडा प्रश्न गरेका छन् ।
काठमाडौंमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभामा बोल्दै नेता थापाले आफूले एक वर्षअघि नै प्रधानमन्त्री ओलीलाई विश्राम दिनुस् भन्दा प्रचण्डहरू कहाँ थिए भनेर प्रश्न गरेका छन् ।
‘मैले संसदमा बोलेर तपाईंहरूका ‘बा’लाई घरमा विश्राम दिनुस् भन्दै गर्दा कहाँ हुनुहुन्थ्यो ? कोरोनाको औषधि उपकरण खरिदमा भ्रष्टाचार हुँदा कहाँ हुनुहुन्थ्यो,’ नेता थापाले भने, ‘उहाँहरूमध्ये एक जना सर्प पाल्न ७२ करोड लिँदै हुनुहुथ्यो, एक जना गोरखामा चुनाव हारेर झ्यालबाट राष्ट्रियसभा सदस्य हुने तयारीमा हुनुहुन्थ्यो ।’
नेता थापाले काठमाडौं खुलामञ्चमा पूर्व राष्ट्रपति रामवरण यादव र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई राखेर संविधान पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आह्वान गरेका छन् । नेता थापाले संविधान निर्मातालाई राखेर संविधान पढ्न आह्वान गरे ।
‘प्रधानमन्त्रीले संसद पुनः स्थापना हुन्छ कसले भन्यो भनेर सोध्नुहुन्छ । यी मैले भन्या, सुन्नुभयो ? भर्खरै भन्या,’ थापाले भने, ‘हामी संविधान बनाउनेहरूले संसद पुनःस्थापना हुन्छ भनेको हो ।’
शुक्रवार कैलालीको धनगढीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान पढ्न आग्रह गरेकोतर्फ लक्षित गर्दै नेता थापाले भने, ‘धनगढीमा उहाँले भन्नुभयो, संविधान पढ्नुहोस् । आउनुस् केपी ओली संविधान पढौं । तपाईं सुवास नेम्वाङलाई बोकेर आउनुस्, हामी रामवरण यादवलाई बोकेर आउँछौं । खुलामञ्चमा संविधान पढौं ।’
प्रधानमन्त्रीले संसद विघटन गर्न पाइन्छ भनेर अदालतले भन्यो भने त्यो दिन प्रधानमन्त्रीले अदालत विघटन गरिदिए हुने समेत नेता थापाले बताए । संसद विघटनपछि प्रधानमन्त्रीले सही गर्नुभयो कि सही गर्नुभएन भन्दा पहिले प्रधानमन्त्रीले गर्न पाउनुहुन्छ कि पाउनुहुन्छ भनेर हेर्नुपर्ने थापाले बताए । ‘बहुमत प्राप्त गरेको प्रधानमन्त्रीले संसद विघटन गर्नु अनाधिकृत हो,’ नेता थापाले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।