काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर बैशाखमा निर्वाचन घोषणा गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट छन् ।
प्रचण्ड–नेपाल पक्षीय नेकपाले सरकारविरुद्ध देशव्यापी आन्दोलन गरिरहेको छ । यसैक्रममा प्रचण्डले एक टेलिभिजनसँगको अन्तर्वार्तामा यस्तो बेला भारतले सहयोग गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
भारतको सहयोग खोजिरहेका बेला प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि केही दिनअघि भारतको मुम्बई पुगे । त्यहाँबाट उनी सुटुक्क भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । दिल्लीमा उनले राजनीतिक भेटघाट गरिरहेका स्रोतले जनाएको छ ।
पत्नी सीताको उपचार प्रक्रिया अघि बढाएर प्रचण्ड आज शनिवार स्वदेश फर्किनुअघि नै हिजो शुक्रबार दिल्ली पुगेका हुन् । पत्नी सीताको हेरविचारका लागि छोरीहरु गंगा र रेणुलाई मुम्बईमै छाडेर प्रचण्ड शुक्रबार दिल्ली आएका छन् ।
प्रचण्ड अन्तर्राष्ट्रिय विमानस्गल नजिकको होटल आईसीटी मौर्यमा बसेका स्रोतले जनाएको छ । उनले त्यहाँ राजनीतिक भेटघाट गर्दै प्रधानमन्त्री ओलीलाई ठीक पारिदिन बिन्ती गरेको स्रोतले जनाएका छन् ।
टेलिभिजन अन्तर्वार्ताका क्रममा समेत प्रचण्डले दिल्लीमा भएको १२ बुँदे सम्झौतामा समेत भारतले सहयोग गरेकाले हालको ओलीको असंवैधानिक कदमलाई परास्त गर्न समेत भारतले सहयोग गर्नुपर्ने खुला आग्रह गरेका थिए ।
प्रचण्डले मुम्बईमा रहँदा राजनीतिक भेटघाट नगरेको जनाइए पनि महाराष्ट्रका राज्यपाल भगतसिंह कोश्यारी र केही अन्य पुराना नेताहरुले अनौपचारिक भेट गरेका स्रोतले बतायो । कोश्यारीसँग प्रचण्डको पुरानो सम्बन्ध समेत रहेको छ । कोश्यारी राज्यपाल हुनुअघि पटक–पटक काठमाडौं आउने गरेका थिए ।
भारतीय नेताहरूले अस्पतालमा पुगेर प्रचण्ड पत्नी सीताको स्वास्थ्य लाभको कामना समेत गरेका जनाइएको छ । प्रचण्ड दिल्लीमा रहेकोबारे बाह्रखम्बास्थित नेपाली दूतावासले समेत जानकारी राखेको छ । राजदूत निलाम्बर आचार्यले पूर्व प्रधानमन्त्री प्रचण्डसँग पटक–पटक फोनमा छलफल गरेका जनाइएको छ ।
प्रचण्डलाई दूतावासले आवश्यक लजिस्टिक सहयोग पनि गर्ने र दूतावासमा भवनमा राख्ने भनिए पनि प्रचण्ड धेरै समय नरहने भन्दै एअरपोर्ट नजिकै रहन रुचाएको दूतावासले जनायो । दूतावासमा रहँदा प्रचण्डका गतिविधि काठमाडौंमा प्रधानमन्त्री ओलीसम्म पुग्ने र भारतीय नेताहरू दूतावास छिर्न नचाहने भएकाले उनले बाहिरै बसेका स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।