धनगढी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले धनगढीमा आयोजना गरेको बृहत् आमसभामा कम्तीमा ७० हजार संख्यामा जनसहभागिता जुट्यो । साविक एमाले वा एकीकृत नेकपाकै कुनै कार्यक्रममा पनि यति संख्या पुग्न सकेको थिएन ।
पार्टी फुटेलगत्तै भएको सुदूरपश्चिम प्रदेशको यो शक्ति प्रदर्शन सम्भव तुल्याएका हुन् मन्त्री लेखराज भट्टले ।
सुुदूरपश्चिममा प्रभावशाली बनेका भट्टले आफ्नो राजनीतिक आयतन विस्तार गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रवार धनगढी उतारेका थिए र यहाँको व्यापक जनसहभागिताबाट त्यसलाई चरितार्थ गराएका छन् ।
माओवादी युद्धको पृष्ठभूमिबाट आएका भट्ट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र मानिन्थे । पार्टी एकीकरणका बेला उनलाई कुनै पनि पद दिइएन । सुदूरपश्चिमको इन्चार्ज बनाइए साविक एमालेका नेता भीम रावल ।
प्रचण्डकै मनसायबाट रावललाई च्यापेर आफूलाई किनारीकृत गरिएको पाएपछि उनी असन्तुष्ट बनेका थिए ।
पार्टी एकीकरणको अढाई वर्षपछि मात्रै भट्ट ओली नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए । रावललाई मन्त्री बनाउने दबाब पन्छाउँदै ओलीले भट्टलाई साथ लिएका थिए । रावल पार्टी इन्चार्ज भइसकेकाले उनैलाई दोब्बर पद दिनु न्यायसंगत नहुने ओलीको तर्क थियो । त्यसपछि २ नेताको राजनीतिक धार बदलियो । रावल ओलीका कट्टर विरोधी बने ।
भट्ट प्रचण्डको प्यानल त्यागेर ओलीनिकट भए । पछिल्लो पार्टी विभाजनका गतिविधिमा खुलेरै ओलीलाई साथ थिए । भट्ट हाल ओली पक्षका सुदूरपश्चिम इन्चार्ज हुन् । नेता भट्टले २०६४ सालको संविधानसभा निर्वाचनमा सुदूरपश्चिम विकासको अवधारणा सार्वजनिक गरेका थिए । उनले उत्तरमा चीनसँगको नाका र दक्षिणमा भारतसँगको सुख्खा बन्दरगाहले मात्रै सुदूरपश्चिमको विकासको ढोका खुल्ने योजना बनाएका थिए ।
‘सुदूरपश्चिममा सुख्खा बन्दरगाह र भारतसँग अन्तदेशीय नाकाको विस्तार बाहेकको विकल्प थिएन । अझ नेपालको उत्पादन भारतमा लैजान र भारतसहित तेस्रो मुलुकको उत्पादन नेपालमा सहज रूपमा भित्र्याउन सुख्खा बन्दरगाहको कुनै विकल्प थिएन । त्यसैले २०६४ सालमै मैले सुख्खा बन्दरगाह भनेको हुँ,’ नेता भट्टले भने ।
त्यसले चाँडै मूर्तरूप पनि लिँदैछ । कञ्चनपुरको महाकाली नगरपालिका–२ दोधाराचाँदनीमा मन्त्री भट्ट स्वयंले सुख्खा बन्दरगाहको शिलान्यास गरिसकेका छन् । यो २ वर्षमा बनिसक्ने तयारी छ । भारतले उसको चम्पावत जिल्लामा पर्ने जोडबुडा नदी हँुदै गडीगोठ भएर नेपालको चाँदनी नजिकै सुख्खा बन्दरगाहका लागि प्रवेश विन्दु तोकेको छ ।
‘नेपालले महाकालीमा बनाएको ४ लेनको सडक र त्यस नजिकै नेपाल–भारतका एकीकृत भन्सार चौकीले पनि नेपालको विकासमा टेवा पुग्छ । अझ त्यसमा अन्तरदेशीय व्यापार र आर्थिक क्षेत्रको पनि तयारी भइरहेको छ,’ नेता भट्टले भनेका छन् ।
कैलालीको डुँडेझारीमा विशेष औद्योगिक क्षेत्र, धनगढी–अत्तरिया सडकमा औद्योगिक करिडोर, कञ्चनपुरको दैजीमा विशेष आर्थिक क्षेत्रका लागि सुरूदेखि नै लडेका भट्टको त्यो सपना पनि पूरा हुँदैछ ।
पहिले प्रचण्डका विश्वासपात्र रहेका भट्टजस्तै सुदूरपश्चिममा ओलीलाई अभियन्ताको खाँचो थियो । साविकको एमाले भएका बेला ओली पक्ष सुदूरपश्चिममा निकै कमजोर थियो । पार्टी एकीकरणपछि ३९ प्रदेशसभा सदस्य रहेको प्रदेश सभाबाट मन्त्रिपरिषद्मा ओलीका एक मात्र भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा मात्र राखिएका थिए । अहिले ओलीको पक्षमा नेता लेखराज भट्ट, माओवादीबाट जितेका तर हालै राजीनामा गरेका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा लगायत केही नेता पनि थपिएका छन् ।
‘भीम रावलको नातावाद र कृपावादका कारण पार्टीमा असन्तुष्टि व्याप्त थियो । भट्टको आगमनसँगै ओली पक्षमा इमान्दार र योग्य नेता–कार्यकर्ता थपिएका छन्,’ एक प्रदेशसभा सदस्यले भने, ‘भट्टको राजनीतिक उचाइ पनि यसले बढाएको छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।