काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि एकअर्का पक्षले आरोप–प्रत्यारोप गरिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लालगद्दार घोषित गरेका छन् ।
कैलालीको धनगढीमा नेकपा ओली पक्षले शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता भट्टले जनयुद्धका सहिद, घाइते र अपाङ्ग कार्यकर्तालाई बेवास्ता गर्ने प्रचण्डले माओवादी लिगेसीको कुरा गर्न नमिल्ने बताएका छन् ।
मन्त्री भट्ट समेत माओवादी पृष्ठभूमिका नेता हुन् । माओवादी लिगेसीको कुरा गर्दा पहिलो लालगद्दार प्रचण्ड र त्यसपछि मात्र आफूहरु भएको मन्त्री भट्टले बताए ।
मन्त्री भट्टले आफू नेकपाको मूलधारमा रहेको दाबी गरे । प्रचण्ड पक्षीय नेता मानिने भट्ट हाल ओली पक्षमा लागेका छन् ।
‘सहिद परिवारलाई प्रचण्ड कमरेडले सम्झिनुभएन, जो हिजो परिवर्तनका लागि युद्ध लडेका थिए, उनीहरु आज खाडीमा छन्, भारतका गल्लीमा भौंतारिइरहेका छन् । अनि माओवादी लिगेसीको कुरा गर्नुहुन्छ ?’ भट्टले भने, ‘हिजो नारायणकाजीसँग एकता गर्दा कहाँ गयो माओवादीको लिगेसी ? मोहन वैद्य र विप्लवलाई अलग गर्दा लिगेसी कहाँ गयो ? लालगद्दार हो भने पहिला प्रचण्ड हो, त्यसपछि मात्र हामी हौं ।’
मन्त्री भट्टले प्रचण्डले ३३ वर्षसम्म नेतृत्व हस्तान्तरण नगरेर पार्टी चलाउँदा पनि आफूहरुले हीनताबोध महसूस भयो भनेर नभनेको जनाएका छन् ।
‘प्रचण्ड कमरेडले ३३ वर्षसम्म खल्तीबाट पार्टी चलाउनुभयो, हामीले कहिल्यै भनेनौं हीनताबोध महसूस भयो भनेर । भदौ २६ गतेको स्थायी समिति बैठकले ओलीलाई सरकारको काम अगाडि बढाउने जिम्मा र प्रचण्डलाई कार्यकारीको हैसियतमा महाधिवेशन गर्ने जिम्मा दिएका थियौं । उहाँले महाधिवेशनको तयारी होइन, फूटको तयारी गर्नुभयो,’ मन्त्री भट्टले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।