काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि देशभरका नेता कार्यकर्तालाई आफ्नो पक्षमा पार्न प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले छुट्टाछुट्टै कोसिस गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा आफ्नो प्रभाव बढाउन शुक्रबार धनगढी जाने कार्यक्रम बनाएका प्रधानमन्त्री ओलीलाई बिहानै धक्का लागेको छ ।
बिहीबारसम्म सफा रहेको सुदूर तराईको मौसम शुक्रबार बिहानैदेखि खराब भएकाले ओलीको धनगढी जाने कार्यक्रम प्रभावित भएको छ । सुदूरपश्चिममा प्रभाव बढाउन ठूलो योजना बनाउँदै प्रधानमन्त्री ओली पहिलो पटक खुला जनसभामा सहभागी हुने कार्यक्रम बनेको छ । तर बाक्लो हुस्सु र कुहिरोका कारण ओलीको विमान यात्रा अनिश्चित बनेको छ ।
प्रतिकूल मौसमका कारण प्रधानमन्त्री ओलीको हवाइ उडान प्रभावित भएको जनाइएको छ । शुक्रबार बिहान ८ः१५ बजे काठमाडौंबाट श्री एयरलाइन्सको विमानबाट प्रधानमन्त्री ओली धनगढी आउने कार्यक्रम तय भए पनि बाक्लो हुस्सुका कारण उडान प्रभावित भएको छ ।
श्री एयरलाइन्स धनगढीका प्रमुख गजेन्द्र शाहीले प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने उडान प्रभावित भएको बताएका छन् ।
‘बिहान सवा ८ बजे हुने उडानमार्फत् प्रधानमन्त्रीज्यू पनि धनगढी आउने कार्यक्रम थियो,’ शाहीले भने, ‘प्रतिकूल मौसमले उडान ढिलो हुने देखिन्छ । सम्भवः आकाश खुलेमा १० बजेसम्म काठमाडौंबाट उडान हुन्छ ।’ आकाश नखुलेमा ओलीको कार्यक्रम नै प्रभावित हुने सम्भावना समेत रहेको जनाइएको छ ।
नेकपा सुदूरपश्चिमले आयोजना गरेको जनसभामा सहभागी हुन प्रधानमन्त्री ओली धनगढी आउने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री सहभागी हुने जनसभामा धेरै सहभागिता देखाउन कञ्चनपुर र कैलालीबाट धेरै संख्यामा सवारीसाधनबाट नेकपा कार्यकर्ता जुटाउने तयारी समेत भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।