काठमाडौं – राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा १ वर्षदेखि छलफलमा रहेको रेल्वे विधेयक संसदबाट पारित नहुने भएपछि सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ ।
तर राष्ट्रिय सभामा सत्तापक्षको बहुमत नपुगेपछि बिहीवारको बैठकका सम्भावित कार्यसूचीमा रेल्वे विधेयक फिर्ता गरिने विषय समावेश गरिएको छैन ।
बैठक बस्ने बेलासम्म बहुमत पुग्ने अवस्था आए मात्र त्यसलाई कार्यसूचीमा राख्ने सत्तारूढ दल नेकपा ओली समूहका एक नेताले बताएका छन् । प्रतिनिधिसभा विघटन भएपछि एउटा सदनले मात्रै विधेयक पारित गर्न नसक्ने भएकाले त्यसलाई फिर्ता लिनुपरेको ती नेताले बताए । संसदमा आएको विधेयक फिर्ता लैजान बहुमतले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।
‘प्रचण्ड–नेपाल समूहका सांसद, कांग्रेसका सांसद र जनता समाजवादी पार्टीका सांसदले सहमति नदिने भएपछि सदनबाट फिर्ता हुन सक्ने भएन,’ ती नेताले भने । राष्ट्रिय सभामा रामबहादुर थापा, देवेन्द्र दाहाल, सुमनराज प्याकुरेल, खिमलाल भट्टराई, विमला घिमिरे, भैरवसुन्दर श्रेष्ठ, नैनकला ओझा, तुलसाकुमारी दाहाल, रामचन्द्र राई, दीप गुरुङ, कोमल वली, गोपाल भट्टराई, रामलख चमार, नरपति लुवार, अगम बान्तवा, इन्दिरा गौतम, विमल पौडेल राई, दिलकुमारी रावल थापा (पार्वती), भगवती न्यौपाने, चन्द्रबहादुर खड्का, कविता बोगटी, सुमित्रा बिसी, इन्दु कडेरिया गरी २३ जना ओली समूहमा खुलेका छन् । बहुमत पुग्न ३० जनाको समर्थन चाहिन्छ ।
राष्ट्रिय सभाबाट विधेयक फिर्ता नहुने भएपछि अब अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेश जारी गर्ने स्रोतले बताएको छ । जनकपुर–जयनगर रेल सञ्चालन गर्न खरिद गरिएका २ वटा रेल यतिबेला जनकपुरमा थन्किएका छन् । ३ महिनादेखि थन्किएका रेलका नट र लिकमा राखिएका काठका फल्याकहरु हराउन थालेपछि रेल्वे ऐन प्रयोगमा ल्याई रेल सञ्चालन गर्नुपर्ने अवस्था आएको सरकारी स्रोतले बतायो ।
ऐन नभएकाले कर्मचारी भर्ना, रेल दुर्घटना बिमा लगायत अन्य काम गर्न सकिएको छैन, सबै कुरा समेट्न अध्यादेश जारी गरी रेल सञ्चालन गर्न लागिएको स्रोतले बताएको छ ।
राष्ट्रिय सभाको बिहीवार बस्ने बैठकको कार्यसूचीमा सरकारले केही विषय नराख्ने भनेपछि मधेशी आयोगको प्रतिवेदन २०७६/७७ पेस गर्ने र विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची राखिएको छ । यसबाहेक सदनमा बोल्न चाहने सांसदलाई समय दिइने जनाइएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।