काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ । तर ओली सरकारभित्रै बसेका मन्त्रीले नै संसद विघटनको विरोध गरेपछि के हो ?
ओली सरकारका शहरी विकास मन्त्री प्रभु साहले संसद विघटन गरेर कोही खुशी नभएको बताए । तर प्रधानमन्त्री ओलीले संसद विघटन राम्रो भएको भन्दै बैशाखमा हुने निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान गरिरहेका छन् ।
ओली सरकारका नवनियुक्त मन्त्री साहले विद्रोही आवाज उठाएपछि सरकारभित्र खैलाबैला मच्चिएको छ । मंगलबार जनकपुरमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री साहले संसद विघटन आफैंमा आत्मघाती कदम रहेको बताएका छन् । मन्त्री हुनुअघि प्रचण्ड–नेपाल पक्षमा रहेका साह मन्त्री बनेपछि ओलीतिर लागेका हुन् ।
‘केही नेता संसद विघटनलाई असंवैधानिक र प्रतिगमन भन्छन्, हामी आफैं पनि संसद विघटनबाट खुशी छैनौं । प्रधानमन्त्री केपी शर्मा ओलीजी समेत खुशी छैनन्,’ साहले भने, ‘हामीले ५ वर्षका लागि जितेका हौं भने तीनै वर्षमा छाडिदिउँ भनेर कसले चाहन्छ ? यसबाट कोही खुशी छैनन् । त्यसैले यो आफैंमा आत्महत्या हो ।’
ओली सरकारमा मन्त्री भएका कारण साहले संसद विघटन संविधानसम्मत नै रहेको जिकिर गरेका छन् । संसदबाट दोस्रो सरकार बन्ने सम्भावना नरहेको अवस्थामा मध्यावधि निर्वाचनमा जाने प्रावधान रहेको भन्दै मन्त्री साहले प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा उनीसँग ६२ प्रतिशत सांसद रहेको दाबी गरेका छन् ।
साहले संसद विघटनको मुद्दा अदालतमा चलिरहेको समयमा त्यसको प्रतिक्षा गर्नुको साटो प्रचण्ड–नेपाल पक्षले आन्दोलन गरेर गैरजिम्मेवारी ढगंले देश बर्बाद गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
मन्त्री साह मात्रै होइन, पछिल्लो समय प्रधानमन्त्री ओली पक्षका नेता कार्यकर्ता असन्तुष्ट बनेर प्रचण्ड–नेपाल पक्षमा लागिरहेका छन् । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ओली पक्ष छोडेर दाहाल–नेपाल पक्ष रोजेका छन् ।
मंगलवार एक विज्ञप्ति जारी गर्दै मन्त्री बुढाले प्रचण्ड–नेपाल पक्षलाई समर्थन गरेको जानकारी दिएका छन् ।
डोल्पाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनले जिल्लाबासीको माया र कर्णाली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्न आफू प्रचण्ड–नेपाल पक्षमा प्रवेश गरेकोे विज्ञप्तिमार्फत जनाएका छन् ।
गत आईतबार सामाजिक विकास मन्त्री दल रावल र सांसद पदम रोकाया ओली पक्ष छाडेर प्रचण्ड–नेपाल समूहतिर गएका थिए । सामाजिक विकास मन्त्री रावल सचिव रहेको नेकपा जिल्ला कार्यसमिति हुम्लाले विज्ञप्ति निकालेर प्रचण्ड–नेपाल पक्ष रोजेको जानकारी गराएको थियो ।
हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामासहित जिल्लाका अरु नेता तथा कार्यकर्ता पनि प्रचण्ड–नेपाल पक्षतिर गएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
अब कर्णाली सरकारमा प्रचण्ड–नेपाल पक्ष बहुमतमा पुगेको छ । नेकपा विभाजनपछि मन्त्री तथा नेताहरु पदको लागि एकपछि अर्को समूहमा प्रवेश गर्ने लहर नै चलेको पाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।