काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले आफू बलियो हुन अनेक अस्त्र चलाइरहेका छन् ।
पकड बलियो बनाउन र आफ्नो पक्षमा धेरै नेता कार्यकर्ता पार्न दौडधुप भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ खुलासा गरेका छन्, जसमा प्रचण्ड–नेपाल पक्षका नेताहरूले सांसदहरूमाथि धम्कीको अस्त्र प्रयोग गरेपछि त्रास फैलिएको छ ।
कैलालीको धनगढीमा सोमवार आयोजित पत्रकार सम्मेलनमा भट्टले आफ्नो पक्षमा धेरै सांसद देखाउन प्रचण्ड–माधव पक्षले ब्ल्याकमेलिङ गर्न थालेको दाबी गरेका हुन् । सुदूरपश्चिममा प्रचण्ड पक्षको नेतृत्व भीम रावलले गरिरहेका छन् ।
केही दिनअघि बसेको संसदीय दलको बैठकमा प्रचण्ड–माधव समूहका ३० सांसद सहभागी भएकोतर्फ संकेत गर्दै नेता भट्टले भने, ‘ब्ल्याकमेलिङ गरेर बनाएको ३० जनालाई मान्दिनँ मैले, त्यहाँभित्र धम्की गएको छ,’ उनले भने ।
पार्टी विभाजपछि ओली पक्षमा गए समानुपातिक सांसदको पद खोस्ने र मन्त्रीबाट हटाउने धम्की दिइएको मन्त्री भट्टले दाबी गरे ।
सरकारले तोकेको समय बैशाखमा नै निर्वाचन हुने भट्टको दाबी छ । सोमवार धनगढी पुगेका मन्त्री भट्टले चुनावको प्रारम्भिक प्रचारका लागि आफू कैलाली आएको समेत बताएका छन् ।
‘चुनाव स्पष्ट रूपमा वैशाखमै हुन्छ, यसमा कुनै द्विविधा छैन,’ उनले भने, ‘चुनावको प्रारम्भिक प्रचारका लागि हामी आएका हौं ।’ औपचारिक रुपले पार्टी विभाजन हुनुअघि नै केन्द्रमा पार्टी फुटिसकेको मन्त्री भट्टले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।