काठमाडौं – नेकपा (प्रचण्ड–नेपाल) समूहको पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न शुरू गरेका छन् ।
अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालो अभ्यास शुरू भएको हो । आईतवारको बैठकको अध्यक्षता अध्यक्ष नेपालले गरेका हुन् ।
यसरी आईतवारको बैठकमा प्रचण्ड दोस्रो नम्बरको अध्यक्ष बनेका छन् भने नेपालले पहिलो नम्बरको अध्यक्षको हैसियत पाएर बैठकको अध्यक्षता गरेका छन् ।
यसअघि पुस ७ र ९ गते स्थायी समिति बैठकको अध्यक्षता दाहालले गरेका थिए। पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन र एकता एकीकरणका बाँकी काम सम्पन्न गर्ने गरी प्रस्ताव तयार पार्न प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठकले अध्यक्ष माधव नेपालको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन गरेको छ ।
आईतवार जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको स्थायी समिति सदस्य पम्फा भुसालले जानकारी दिइन् ।
कार्यदलमा स्थायी समिति सदस्यहरू गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र शक्ति बस्नेत छन् । यो कार्यदलले ७ दिनभित्र गृहकार्य गरी प्रस्ताव तयार पार्नेछ ।
‘सकेसम्म छिटो गर्ने गरी बढीमा ७ दिनभित्र कार्यविभाजन गर्ने गरी कार्यादेश तोकिएको छ,’ नेतृ भुसालले भनिन् । कार्यदलले केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी लगायतका नेताहरूको समेत कार्यविभाजन प्रस्ताव तयार पार्नेछ । एकीकरण र एकताको बाँकी काम टुंग्याउने गरी प्रस्ताव बनाउने जनाइएको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि सोमवार भारतको मुम्बई जाने भएका छन् । वंशाणुगत पार्किन्सनका कारण लामो समयदेखि बिरामी रहेकी प्रचण्ड–पत्नी सीताको थप उपचार मुम्बईमा हुनेछ । बिरामी दाहालको केही दिनअघि मात्रै मेडिसिटी अस्पतालमा उपचार गरेर शुक्रवार डिस्चार्ज गरिएको थियो ।
आईतवार पार्टी स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले आफू सीताको उपचारका लागि मुम्बई जानुपर्ने अवस्था आएको बैठकलाई जानकारी गराएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।