काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको बेला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको पछि लाग्ने १ नम्बर प्रदेशका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई कारवाही गरिएको छ ।
प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा प्रचण्ड–नेपाल पक्षले संसदीय दलको प्रमुख सचेतकबाट राजभण्डारीलाई हटाएको हो ।
आईतबार बसेको प्रचण्ड–नेपाल पक्षको प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतक राजभण्डारीलाई हटाउने निर्णय गरेको छ । राजभण्डारी ओली पक्षका नेता रहेका छन् ।
प्रदेश सभाका ४० जना सदस्यको उपस्थितिमा बसेको संसदीय दलको बैठकले भण्डारीलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएर सम्पूर्ण कामको जिम्मेवारी सचेतक सौभाग्यवी राईलाई दिएको नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले जानकारी दिए ।
‘प्रमुख सचेतकलाई हटाएर सबै जिम्मेवारी सचेतकलाई दिने निर्णय भएको छ,’ आङ्बुहाङले भने, ‘संसदको कार्यव्यवस्था समितिमा प्रतिनिधित्व गर्ने सदस्य पनि परिवर्तन गरेका छौं ।’
यसअघि राजभण्डारी र इन्द्रमणि पराजुलीले समितिमा प्रतिनिधित्व गर्ने गरेका थिए । आईतबारको बैठकले संसदको कार्यव्यवस्था समितिमा प्रतिनिधित्व गर्न प्रदेश सांसद लिलाबल्लब अधिकारी र उपेन्द्रप्रसाद घिमिरेलाई जिम्मेवारी तोकेको छ । नेकपा विभाजनपछि ओली र प्रचण्ड–नेपाल पक्षले एकअर्कालाई कारवाही गर्ने शृंखला तीव्र पारेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।