काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुुर्याउने गरी सडकमा नाराबाजी हुनु निन्दनीय भएको बताउँदै आपत्ति जनाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आक्षेप लगाउने अक्षम्य काम गरेर संविधान, कानून र राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने कोसिस भइरहेको बताउँदै राजनीतिक दल र राजनीतिक समूहहरूलाई जिम्मेवार हुन गुरुङले अनुरोध गरेका छन् ।
राजनीतिक एजेन्डा विना दलहरूले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भइरहेको उनले बताए । ‘विना राजनीतिक एजेन्डा आन्दोलनमा उत्रिएका दलहरूले निर्वाचनको तयारीका लागि नै सडक आन्दोलन गरिरहेका छन्,’ मन्त्री गुरुङले भने । राजनीतिक दलहरूले निर्वाचन भएरै छाड्ने भन्ने मनोविज्ञान जनतालाई दिन आन्दोलन गरिरहेको बताएका छन् ।
अब मुलुक निर्वाचनमा गइरहेको बताउँदै मन्त्री गुरुङले राजनीतिक दलदेखि नागरिक समाज, पत्रकार लगायत सबै पेशा र समुदायलाई निर्वाचनका लागि तयार हुन आह्वान गरेका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले निर्वाचन आयोगलाई सघाउन सरकारले आवश्यक पर्ने कार्य थालिसकेको समेत जानकारी दिएका छन् ।
सरकारलाई कतिपयले कामचलाउ भन्ने गरेको सन्दर्भमा गुरुङले सरकारले संविधान अनुसार पूर्ण अधिकार सहितको कार्य गरिरहेको जनाएका छन् । कर्मचारी तथा कुनै पनि वर्ग समुदायलाई सरकारको काम कारवाहीप्रति कुनै पनि भ्रममा नपर्न अनुरोध समेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।