काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले लाञ्छना लगाएपछि सभामुख अग्नि सापकोटाको सचिवालयले कडा जवाफ फर्काएको छ ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिको सचिवालयले खण्डन गरेको छ ।
आफूनिकट प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरुको कार्यक्रमलाई भर्चुअल माध्यमबाट शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेको लाञ्छना लगाएका थिए ।
‘संसद्ले गर्नुपर्ने निर्णय नगरेर सभामुखले रोकेर राखेका छन् । संसद् विघटन भइसकेपछि केही सांसदहरुले हस्ताक्षर लगेर साढे ३ बजे प्रस्ताव पेस गरे । विघटन भइसकेको संसद्को अविश्वास प्रस्तावको कुनै अर्थ थिएन । संसद् विघटन भइसकेपछि साढे ३ बजे आएको अविश्वासको प्रस्ताव १०ः४० मै आएको थियो भनेर कीर्ते सनाखत गरेको थियो । सभामुखजस्तो मर्यादित पदबाट वैधानिकता दिनका लागि साढे १० बजे भएको छ भनेर झूटा सनाखत सभामुखबाट कीर्ते काम भयो, लज्जास्पद भयो,’ ओलीले भनेका थिए ।
पुस ५ गते ९० जना सांसदले संघीय संसद सचिवालयमा दर्ता गराएको अविश्वासको प्रस्तावका विषयमा सभामुखलाई जोडेर प्रधानमन्त्रीबाट टिप्पणी आएपछि सभामुखको सचिवालयले त्यसको खण्डन गरेको छ ।
‘सो दिन सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखज्यूले दर्ताका लागि लिखित निर्देशन दिनु भएको हो । तत्पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन,’ सभामुखको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
तथ्यहरूलाई एकातिर पन्छाएर सभामुखलाई समेत विवादमा तान्ने प्रयासस्वरुप भ्रममा सिर्जना गरिएको भन्दै सभामुखको सचिवालले भ्रममा नपर्न सबैमा आग्रह गरेको छ । अविश्वासको प्रस्ताव दर्ता समयका सम्बन्धमा संसद सचिवालयका प्रवक्ताद्वारा पुस ८ गते प्रेस विज्ञप्तिमार्फत स्पष्ट गरिसकिएको जनाइएको छ ।
यसअघि आफूले बोलाएको संवैधानिक परिषद्को बैठकमा उपस्थित नभएपछि सभामुख सापकोटासँग प्रधानमन्त्री ओली असन्तुष्ट थिए । सभामुख सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को इशारामा चलेर आफूलाई असहयोग गरेको ओलीको बुझाइ थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।