काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ फुटेका मात्रै छैनन्, यतिबेला प्रचण्डकै पूर्व सहयोद्धाहरू उनीविरुद्ध ‘विष’ ओकलिरहेका छन् ।
प्रचण्डविरुद्ध विष ओकल्ने पूर्व सहयोद्धामध्ये एक हुन्, नेकपा नेता एवं शहरी विकास मन्त्री प्रभू साह । उनले अर्काे पक्षका नेकपा अध्यक्षद्वय माधवकुमार नेपाल र प्रचण्डको अन्तरघात र अराजकताले देशमा अस्थिरता निम्त्याएको दाबी गरेका छन् ।
बिहीवार रौतहटको गरुडामा नेकपा जिल्ला कमिटीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै २ नम्बर प्रदेशका अध्यक्ष समेत रहेका नेता साहले नेपाल र प्रचण्डको पटक–पटकको अन्तरघातको कारण पार्टी क्षतविक्षत अवस्थामा पुगेको र मुलुकलाई संकटतर्फ उन्मुख गरेको दाबी गरे ।
नेपाल र प्रचण्डले आफ्नो पार्टी र आफ्नै पार्टीको सरकारविरुद्ध कदम–कदममा धोखा र षड्यन्त्र गरेको नेता साहले बताएका छन् ।
‘दुनियाँमा कतै सुन्नुभएको छ, आफ्नै पार्टीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको कुरा ? यो त कांग्रेसले पनि आफ्नो सरकारको विरुद्ध कहिले गरेन । तर केही कम्युनिस्टहरू आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्यायो । तपाईंहरूले देख्नुभयो होला, त्यसमा प्रभु साहको पनि नाम छ,’ नेता साहले भने, ‘मैले असार महिनामा फरक प्रयोजनका लागि संसदीय दलमा गरेको हस्ताक्षरको दुरुपयोग गरेर आफ्नै पार्टीको सरकारविरुद्ध षड्यन्त्र गरेका माधव नेपाल र प्रचण्ड विगत ३ वर्षदेखि पार्टी भित्र अन्तरघातमाथि अन्तरघात गर्दै आएका हुन् ।’
माधव नेपाल र प्रचण्डको छलछामका कारण पार्टी र सरकार सञ्चालनमा असहज भएपछि संसद विघटन भएको बताउँदै साहले ताजा मतादेश हासिल गर्न निर्वाचनमा जुट्नुपर्ने बताएका छन् ।
‘जनताको ताजा मतादेश हासिन गर्न आह्वान गरिएको यो प्रक्रियालाई चुनौती दिँदै अदालतमा गएपछि पनि निरन्तर सडकमा प्रदर्शन गर्ने र निच स्तरको गाली गरेर हिँड्ने अराजकहरूले देशमा द्वन्द्व सिर्जना गर्न खोज्दैछन्,’ उनले भने, ‘त्यसैले म भन्न चाहन्छु कि पार्टीको कुनै बैठक बिनै सरकार र पार्टीविरुद्ध षड्यन्त्र गर्ने यस्ता प्रतिक्रान्तिकारी अस्थिरतावादीलाई पहिचान गरी निस्तेज गरौं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।