काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेर नेता कार्यकर्ता एकअर्काे पक्षमा लागिरहेका बेला नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षमा ठूलो विद्रोह भएको छ ।
जनयुद्धकालदेखि नै प्रचण्डको साथमा रहेका पूर्व माओवादीका तर्फबाट २ नम्बर प्रदेश सभाका ६ जना प्रदेश सांसदहरू नेकपाको केपी शर्मा ओली पक्षमा लागेका छन् ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर १(२) बाट साविकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका प्रदेश सांसद रामचन्द्र मण्डलसहित ६ जना प्रचण्ड पक्षधर नेताहरू ओलीतिर लागेका छन् । सांसद मण्डल प्रदेश सभामा प्राकृतिक स्रोत तथा वातावरण समितिमा सभापति पनि छन् ।
मण्डलका अनुसार सिरहाको निर्वाचन क्षेत्र नम्बर ४(१) बाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित दिलिपकुमार साह, रौतहटको ३ (२)बाट निर्वाचित कुन्दनप्रसाद कुशवाहा, बाराको ३(१)बाट निर्वाचित ज्वालाकुमारी साह, बाराका समानुपातिक सांसद मोहम्मद समिर, सिरहाबाट समानुपातिक सांसद फुलियादेवी सदायसहित ६ जना पूर्व माओवादी तर्फका सांसदहरू ओली पक्षमा खुलेर लागेका छन् । दिलिपकुमार साह मातृकाप्रसाद यादवका पूर्व ज्वाइँ समेत हुन् ।
शिक्षकको जागिर त्यागेर बलिदानी हुनका निम्ति माओवादीमा लागेका धनुषाका सांसद मण्डलले अध्यक्ष प्रचण्डले माओवादलाई तिलाञ्जली दिँदै, क्रान्तिसँग गद्दारी गर्दै आफ्नो व्यक्तिगत लाभ, सत्ता स्वार्थ र परिवारवादमा मात्र केन्द्रित भएका कारण पूर्व माओवादी खेमा छाडेर ओली खेमामा लागेको बताए ।
प्रचण्डले मधेशमा नेता भनेको मातृकाप्रसाद यादवलाई मात्र बुझ्ने तथा अन्य नेताहरू प्रभु साहसहित प्रतिभाशाली नेतालाई स्थान कहिल्यै नदिने गरेका कारण समेत कतिपय नेतामा प्रचण्डप्रति असन्तुष्टि रहेको जनाइएको छ ।
यसअघि मधेशका प्रभावशाली नेता प्रभू साहले प्रचण्डलाई छाडेर ओली सरकारमा मन्त्री बनेका छन् । गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट लगायत नेताहरूले समेत प्रचण्डको साथ छाडेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।