काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी ओलीले गैरकानूनी रूपमा राजनीतिक दलका नेताहरूको टेलिफोन ट्यापिङ गरिरहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षद्वारा मंगलवार रोल्पाको लिवाङमा आयोजित सभामा पूर्वमन्त्री समेत रहेका पुनले नेताहरूलाई तर्साउन र गोप्य कुरा थाहा पाउन ट्यापिङ गरिएको दाबी गरे ।
‘सबै नेताहरूका टेलिफोन ट्यापिड भइरहेको छ । नेताहरूले फोनमा गोप्य कुरा गर्न मिल्दैन,’ पुनले भने, ‘सञ्चारका साधनहरूमा कुरा गर्न नमिल्ने गरी नेताहरूलाई आतंकित गरिएको छ, हाम्रोजस्तो लोकतान्त्रिक संविधान भएको मुलुकमा यो स्वीकार्य हुन सक्दैन ।’
प्रधानमन्त्रीका कारण राष्ट्रिय व्यवसायी आतंकित बनेको पनि पुनले दाबी गरे । सरकार बन्दै गर्दा सहयात्री दलको जिम्मामा परेको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलाई नियतवश आफू मातहत राखेर प्रधानमन्त्रीले सुरूमै सबै चिज आफूमा केन्द्रित गर्ने संकेत देखाएको स्मरण पुनले गरे ।
‘सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग आफू मातहत राखेर उद्योगी व्यवसायीलाई तर्साएर आत्मसमर्पण गर्नेलाई आत्मसमर्पण गराउने र नगर्नेलाई कारबाही गर्ने काम भयो । हामीले सबै अधिकार एउटै व्यक्तिका अधिनमा राखेर मानिसहरूलाई आतंकति पार्ने खालको लोकतन्त्र ल्याएका होइनौं,’ उनले भने ।
शक्ति र सत्ताको दुरुपयोग २ दिनको कुरा भएको भन्दै उनले सत्ता र शक्तिको धम्कीबाट आफूहरू नडराउने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले संविधानमा कतै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै पुनले दलभित्र असहयोग भएको बहानामा जनताको मतको अपमान गर्ने छुट संविधानले प्रधानमन्त्री ओलीलाई नदिएको बताएका छन् ।
‘मलाई केही नेताले मन पराएनन् भन्ने आधारमा संसद विघटन गरिएको छ,’ पुनले भने, ‘पार्टीमा झगडा हुँदा वा प्रधानमन्त्रीको मन्त्रीसँग मतभेद हुँदा संसद विघटन गर्न पाउने या यस्तै कुनै आधार र कारणले संसद विघटन गर्ने ठाउँ छैन, हामी यसलाई कथित विघटन भन्छौं ।’
सरकारका ३ वटै नीति कार्यक्रम र बजेट संसदबाट पास भएको तथा कुनै पनि विधेयक संसदबाट अस्वीकृत नभएको अवस्थामा पार्टी र संसदमा असहयोगका कारण विघटन गर्नुपरेको भन्ने दाबी असत्य रहेको पुनले बताएका छन् । संविधानको धारा ७६ को सामान्य लेखपढ गर्न सक्ने जो कोहीले सजिलै व्याख्या गर्न सक्ने उल्लेख गर्दै उनले त्यसअनुसार संसद विघटन हुनै नसक्ने जिकिर गरेका छन् ।
अस्वाभाविक रूपमा अन्तर्राष्ट्रिय गुप्तचर निकायका मानिस प्रधानमन्त्री भेटेर फर्कने र प्रधानमन्त्रीको पूर्वराजासँग साँठगाँठको चर्चा चलिरहेका बेला संसद विघटन हुनुलाई आफूहरूले गम्भीर रूपमा लिएको पुनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।