काठमाडौं – प्रतिनिधि सभामा अल्पमतमा परेर संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि देशभर संकट आउने भएको छ ।
बागमती प्रदेश र १ नम्बर प्रदेशमा ओली पक्षीय मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको र अन्य प्रदेशमा दर्ताको तयारी भइरहेका बेला नेपाली कांग्रेसले नेकपाको प्रचण्ड–नेपाल पक्षसँग मिल्ने तयारी गरेको छ ।
नेकपा विभाजित भएपछि अहिले ओली पक्ष एकातिर तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष अर्काेतिर भएका छन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने असंवैधानिक निर्णय गरेकाले ओली पक्षसँग कतै पनि सहकार्य नहुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले संकेत गरेका छन् । नेता खाँण पार्टीमा सभापति शेरबहादुर देउवा निकट मानिन्छ । कांग्रेसको संस्थापन निकट नेताले प्रचण्ड–नेपाल पक्षसँग मिल्ने संकेत गर्नुलाई अर्थपूर्ण रुपमा हेरिन्छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा गरेका पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खाँणले पछिल्लो राजनीतिक अवस्था र प्रदेश सरकारको फेरबदलका सम्बन्धमा असंवैधानिक कदमको विरोधमा रहेकाहरुसँगको सहकार्य पहिलो रोजाइ हुने बताए ।
‘कांग्रेसलाई सत्तामा जाने हतार नभए पनि लोकतान्त्रिक पार्टी भएकाले ढोका थुनेर बस्न मिल्दैन । परिस्थिति अनुरूपको सहकार्य हुनसक्छ,’ उनले भने ।
नेता खाँणले सरकार कामचलाउ भइसकेको बताए । कामचलाउ सरकारले दीर्घकालीन महत्वका कुनै पनि निर्णय गर्न नपाउने उनले बताए ।
‘कामचलाउ सरकारले दीर्घकालीन महत्वका कुनै पनि निर्णय गर्न पाउँदैन । यदि गर्यो भने त्यस्तो निर्णय कांग्रेसलाई स्वीकार्य हुने छैन,’ उनले भने ।
नेता खाँणले राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालयको हल्काराको रूपमा काम गरेको टिप्पणी पनि गरे । संविधानको बर्खिलाप हुने गरी प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थमा गरेका निर्णय तथा सिफारिसको मसी सुक्न नपाउँदै राष्ट्रपतिले स्ट्याम्प लगाइदिएको भन्दै उनले राष्ट्रपति कार्यालयलाई हल्काराको संज्ञा दिएका छन् ।
‘राष्ट्रपतिसँग विषय विज्ञ सल्लाहकारको टीम छ । तर कसैसँग सल्लाह गर्नुहुन्न । ओलीले गर्ने संविधान विपरीतका अध्यादेश, सिफारिसको मसी सुक्न नपाउँदै स्ट्याम्प लगाएर पठाइदिनुहुन्छ,’ उनले भने ।
संविधानका कुनै पनि धाराले बहुमतको प्रधानमन्त्रीलाई यथास्थितिमा संसद विघटन गर्ने अधिकार नदिएको भन्दै उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर मुलुकलाई एकदलीय सर्वसत्तावादतर्फ लैजान संसद विघटनको कदम चालेको आरोप लगाए । सरकारले गरेका भ्रष्टाचार लुकाउन पनि संसद विघटन गरेको बताएका छन् ।
निर्वाचनको मिति तोकेर संसद विघटन गरिए पनि प्रधानमन्त्री ओलीको मानसिकता वैशाखमा चुनाव गर्नु नरहेको भन्दै उनले कोरोनाको बहानामा संकटकाल लगाएर निर्वाचन सार्न सक्ने खतरा औंल्याएका छन् ।
संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई सही दिशा दिन नेपाली कांग्रेस सडकमा निस्किएको भन्दै नेता खाँणले देश र जनताका लागि जस्तोसुकै बलिदान दिन कांग्रेस तयार रहेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।