काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि पुनः एकता गराउने उद्देश्यले काठमाडौं आएको चिनियाँ टोलीको चलखेलपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न तयार भएका छन् । तर प्रचण्डले केही शर्त भने राखेका छन् ।
नेकपामा देखिएको राजनीतिक संकटबारे चीनबाट आएको विशेष टोलीका सदस्यले नेकपा (प्रचण्ड–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जान सुझाव दिएका थिए ।
सोमबार बिहान प्रचण्डनिवास खुमलटारमा भएको भेटमा चिनियाँ टोलीले ओली–प्रचण्ड मिल्नुपर्ने आशय व्यक्त गरेपछि प्रचण्ड ओलीसँग मिल्न तयार भएका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिँदै गएको बेला चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आईतबार ४ सदस्यीय टोली काठमाडौं आएको छ ।
स्रोतका अनुसार चिनियाँ विशेष टोलीले नेकपाको पार्टी एकतालाई कायम राख्न प्रचण्डलाई आग्रह गरेको छ । प्रचण्डले प्रधानमन्त्री ओली सच्चिएमा मिलेर अघि बढ्न आफू तयार भएको जवाफ दिएका छन् । तर प्रचण्डले प्रतिनिधिसभा विघटनको निर्णय ओलीले फिर्ता लिनुपर्ने शर्त राखेका छन् । ओलीले संसद विघटन फिर्ता लिएमा पुनः ओली–प्रचण्डबीच चिनियाँ समन्वयमा एकता हुने देखिएको छ ।
बिहान करीब साढे ९ बजे खुमलटार पुगेको चिनियाँ टोलीले प्रचण्डसँग ४५ मिनेटसम्म वार्ता गरेको थियो । त्यसपछि चिनियाँ टोलीले अर्का अध्यक्ष माधवकुमार नेपालसँग बनेश्वरस्थित एभरेस्ट होटलमा भेटवार्ता गरेको छ ।
चिनियाँ टोली टोलीका सदस्यहरूले नेकपाको एकतालाई कायमै राख्न अध्यक्ष नेपाललाई समेत सुझाव दिएका छन् । जवाफमा नेता नेपालले पहिला ओली सच्चिनुपर्ने धारणा राखेका स्रोतले जनाएको छ ।
चिनियाँ टोलीले आईतबार काठमाडौंमा आउने बित्तिकै राष्ट्रपति विद्यादेवी भण्डारी र राति प्रधानमन्त्री ओलीसँग भेट गरिसकेको छ । प्रचण्ड र नेपालको माग अनुसार चिनियाँ पक्षले ओली र भण्डारीबाट संसद विघटनको निर्णय फिर्ता गराउन सक्छ कि सक्दैन ? हेर्न बाँकी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।