काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद बढ्दै गएर सांसदलाई नै २४ घण्टे स्पष्टीकरण सोध्ने तहमा पुगेको छ ।
आईतबार प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ जना प्रदेश सांसदलाई नेकपा ओली समूहले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
राजनीतिक रूपमा पार्टी विभाजन भएपनि कानूनी रूपमा एकै रहेको र राई नै नेकपा संसदीय दलको नेता रहेकाले मातहतका सांसदलाई स्पष्टीकरण सोधिएको छ ।
पार्टी विभाजनपछि प्रचण्ड–माधव पक्षका ३७ सांसदले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाका प्रमुख सचतेक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधका छन् । राजभण्डारी ओली पक्षका नेता हुन् । उनले सांसदहरूलाई तत्काल प्रस्ताव फिर्ता पनि निर्देशन दिएका छन् ।
संसदीय दलमा छलफल नगरी प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेकाले प्रस्ताव फिर्तासहित स्पष्टीकरण पेश गर्न पत्र पठाएको प्रमुख सचेतक राजभण्डारीले जानकारी दिए । प्रस्ताव फिर्ता लिएर स्पष्टीकरण नबुझाए राजनीतिक दल सम्बन्धी ऐन र दलको विधान बमोजिम कारवाही गरिने उनले बताएका छन् ।
पार्टीको निर्णय विपरीत जाने सांसदलाई पार्टीले कारवाही गर्न सक्ने कानून रहेको छ । कानूनी रूपमा दल विभाजित नहुँदै अविश्वासको प्रस्ताव दर्ता गराएका प्रचण्ड पक्षीय सांसदलाई अप्ठ्यारो पर्ने ओली पक्षको दाबी रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।