काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि त्यसको असर सरकारमा समेत पर्न थालेको छ । संघीय सरकारबाट मन्त्रीहरूले राजीनामा दिइसकेपछि नयाँ मन्त्री नियुक्त समेत भइसकेका छन् ।
अब मन्त्री राजीनामाको लहर प्रदेशतिर सरेको छ । केही दिनअघि बागमती प्रदेशका मन्त्रीहरूले राजीनामा दिएर मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरेका छन् ।
अर्काेतिर १ नम्बर प्रदेशका ३ जना मन्त्रीले आईतबार बिहानै अकस्मात राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाय गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले मुख्यमन्त्री शेरधन राई समक्ष राजीनामा पेश गरेका छन् ।
राष्ट्रिय राजनीतिमा घटेको घटनाक्रमले राजीनामा दिएको उल्लेख गरिएको छ ।
हिजो शनिवार मुख्यमन्त्री शेरधन राइले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए ।

नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जनाएका छन् ।
आङ्बोको नेतृत्वमा आईतबार मुख्यमन्त्री राईविरुद्ध ससदमा अविश्वासको प्रस्ताव दर्ता हुँदैछ । आङ्बोले आफ्नो नेतृत्वमा आईतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभामा दर्ता गर्ने जनाएका छन् ।
बर्खास्त गरेसँगै अविश्वासको प्रस्ताव दर्ता गर्न आफूलाई झनै सहज भएको उनले जनाएका छन् । आङ्बोले मुख्यमन्त्री राईविरुद्ध केही मन्त्रीसहित नेकपाका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने बताए ।
मन्त्री आङ्बो पूर्व माओवादी नेता हुन् भने मुख्यमन्त्री राई ओली निकट नेता हुन् । आङ्बो हाल प्रचण्ड–नेपाल नेकपामा आवद्ध छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।