काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहका नेताहरुले शनिवार दिनभरि नै काठमाडौंमा रहेका कार्यकर्तालाई विभाजनको औचित्य पुष्टि गर्न समय खर्च गरेका छन् ।
दुवै पक्षका नेताहरू जिल्ला–जिल्लाबाट काठमाडौंमा रहेका कार्यकर्तालाई भेला गरेर पार्टी विभाजनको कारणबारे चर्चा गर्न र त्यसको औचित्य पुष्टि गर्न लागिपरेका हुन् ।
पार्टी विभाजनपछि दुवै पक्षले कार्यकर्ता आ–आफ्नो पक्षमा पार्न जिल्ला तहमै कसरत सुरू गरिसकेका छन् । काठमाडौंदेखि स्थानीय तहसम्म नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न दुवै समूहले प्रभावशाली केन्द्रीय नेताहरू नै परिचालन गरेका छन् । प्रचण्ड–नेपाल समूहले शनिवार सचिवालय बैठक राखेर संगठन विस्तार गर्ने र ओली पक्षमा रहेका नेता–कार्यकर्तालाई तान्ने विषयबारे छलफल गरेका छन् ।
पार्टी विभाजनपछि त्यसको दोषी को हो भन्नेबारे नेता–कार्यकर्तालाई बुझाउन सकेसम्म सचिवालय सदस्य र नभए पनि स्थायी कमिटी सदस्यहरूलाई खटाउने भएको छ । ओली पक्षले भने यसअघि नै देशभर कार्यकर्ता भेला गर्ने र सबैजसो स्थानमा केन्द्रीय नेताले सम्बोधन गर्नेगरी कार्यतालिका तयार पारेर आफू निकटका नेताहरूलाई पठाइसकेको छ ।
शनिवार ओली पक्षका नेता ईश्वर पोखरेलले काठमाडौं–५ का कार्यकर्तालाई सम्बोधन गरेका छन् । शंकर पोखरेलले लुम्बिनी प्रदेशका नेता–कार्यकर्तालाई सम्बोधन गरे । प्रचण्ड–नेपाल समूहका सुरेन्द्र पाण्डेले धादिङका नेता–कार्यकर्तालाई सम्बोधन गरे । प्रचण्ड–नेपाल समूहले हरिबोल गजुरेलको उपस्थितिमा सिन्धुलीका नेता–कार्यकर्तासँग छलफल गरे ।
दुवै पक्षका नेताहरूले पार्टी विभाजन हुनुमा एकले अर्कालाई दोष थोपर्दै आफूहरू नै असल भएको साबित गर्न खोजेका छन् । पार्टीका नेता–कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा ओली पक्षका नेताहरूले प्रचण्ड–नेपालले सरकारलाई काम गर्न नदिएको, आफ्ना मान्छे भर्ती गर्न दबाब दिएको, ओलीलाई राष्ट्रियतको पक्षमा काम गर्दा पनि समर्थन गर्न नसकेको, राष्ट्रपति र प्रधानमन्त्रीलाई हटाउने षड्यन्त्र रचेको आरोप लगाएका छन् ।
प्रचण्ड–नेपाल पक्षका नेताहरूले ओली सरकार भ्रष्टाचारको चंगुलमा फसेको, औषधिलगायत सामान खरिद गर्दा भ्रष्टाचार गरेको, भ्रष्टचारीलाई संरक्षण गरेको, संसद् विघटन गरेर लोकतन्त्र अपरहण गरेको, आफूलाई सर्वोच्च शक्ति ठानेको, आफूले जे गर्दा पनि हुने भन्ने सोच पलाएको र बिस्तारै मुलुकलाई निरंकुशतातिर धकेल्न खोजेकोजस्ता आरोप लगाएर पार्टी विभाजनको कारक तत्व ओली भएको आरोप लगाएका छन् ।
ओली पक्षका नेता ईश्वर पोखरेलले काठमाडौंको आफ्नै क्षेत्रका कार्यकर्ताहरूको भेला राखेर पार्टीभित्र समस्या आउनुको मुख्य कारण कार्यकारी अध्यक्ष प्रचण्ड नै भएको आरोप लगाए । तर कार्यकारी अध्यक्ष प्रचण्डले के–के कारणले पार्टीमा समस्या ल्याएको भन्नेबारे भने खुलाएनन् । उनले पार्टी एकता जोगाउन आफूले धेरै पहल गरे पनि सफल हुन नसकेको बताउँदै कार्यकर्तासँग माफी मागेका थिए ।
‘मैले मेरो जिम्मेवारीअनुसार भूमिका खेल्दाखेल्दै पनि पार्टी एकता जोगिएन, यसर्थ म तपाईंहरूसँग माफी चाहन्छुु,’ पोखरेलले भने ।
आफूनिकट नेता–कार्यकर्ता भेला पारेर प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले पार्टी विभाजन हुनुको कारण प्रधानमन्त्री ओलीको अहंकार भएको बताएका छन् । उनले प्रधानमन्त्री ओली आफैं राजा बन्ने कोसिस गरेको त्यसो नगर्न चेतावनीसमेत दिए । धादिङबाट काठमाडौं आएका आफू पक्षका नेता–कार्यकर्ताको भेलामा नेता पाण्डेले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमको विरोध गर्नुका साथै सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर जनतालाई न्याय दिने बताए ।
‘सर्वोच्च अदालतले कसैको अनुहार हेरर भन्दा पनि कानुन हेरेर फैसला गर्ने भएकाले संसद् पुनःस्थापना हुने कुराका हामी ढुक्क छौं,’ नेता पाण्डेले भने । उनले पार्टी विभाजन हुनुमा प्रधानमन्त्री ओली दोषी रहेको बताए ।
ओली पक्षका नेता शंकर पोखरेलले पनि शनिवार नै लुम्बिनी प्रदेशका कार्यकर्ताको भेला गरी पार्टी विभाजन हुनुमा कार्यकारी अध्यक्ष प्रचण्ड दोषी भएको बताए । उनले केपी ओलीको अनुहार देखाएर बहुमत प्राप्त जनमतलाई अपहरण गर्न खोजेपछि बाध्य भएर संसद् विघटन गर्नुपरेको बताएका थिए ।
‘केपी ओलीविरुद्ध प्रस्तुत गरिएको अभियोगपत्र नै पार्टी विभाजनको कारण हो,’ नेता पोखरेलले भने । उनले पार्टी विभाजनको जिम्मा प्रचण्ड–नेपाल समूहले लिनुपर्ने समेत जिकिर गरेका थिए । पार्टी एकताको मर्म र भावनाविपरीत ओलीलाई जसरी एक पक्षीय आरोप लगाइएको छ, त्यो नै पार्टी विभाजनको कारक तत्व भएको बताउँदै नेता पोखरेलले दाहाललाई कार्यकारी अध्यक्षबाट हटाइएको हुनाले नेताहरूलाई मूलघर फर्कन आग्रह गरेका थिए ।
ओली पक्षले भोजपुरका नेता–कार्यकर्तासँग पनि अन्तर्क्रिया गरेको थियो । ओली पक्षका नेता एवं पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पा सो भेलामा सहभागी रहेका थिए ।
प्रचण्ड–नेपाल पक्षका नेताहरूले सिन्धुली जिल्लाका नेता–कार्यकर्ताहरूसँग भेटघाट गरेका थिए । सांसद गणेश पहाडीलगायत नेताहरूको सहभागिता रहेको सो भेटघाटमा उनीहरूले पार्टी विभाजनबारे ओली दोषी रहेको निष्कर्ष निकालेका थिए । प्रचण्ड–नेपाल पक्षका नेताहरूले शुक्रवार दोलखाका नेता कार्यकर्ताहरूको पनि भेला गरेका थिए । उनीहरूले पनि ओलीकै कारण पार्टी विभाजन भएको निष्कर्ष निकालेका थिए ।
ओली पक्षका नेताहरू महेश बस्नेतले शनिबार पोखरा र ललितपुरमा छुट्टाछुट्टै कार्यक्रममको आयोजना गरी प्रचण्ड–नेपालविरुद्ध आक्रोश पोखेका थिए । उनले सूर्य चिह्न र पार्टीको सम्पत्तिमाथि आँखा नलाउन चेतावनी दिएका थिए । नागरिक दैनिकमा खबर छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।