काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष एकअर्काविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन् ।
नेपालको दृश्य हेर्दा अब ओली–प्रचण्ड पुनः एकीकरण हुने र मिल्ने सम्भावना तत्काल देखिँदैन । तर नेकपा फुटेपछि निराश बनेको चीन ओली–प्रचण्डलाई पुनः मिलाउने मिसनमा लागेको छ ।
काठमाडौंमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरूलाई भेटेर प्रारम्भिक वार्ता र छलफल गरिरहेकी छन् । यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्व मन्त्री वर्षमान पुन लगायतलाई भेटिसकेकी छन् ।
राजदूत यान्छीको चलखेललाई पूर्णता दिन चीनबाट उच्च तहको भ्रमण हुँदैछ । भोलि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागका उपमन्त्री गुओ यहु काठमाडौं पुग्दैछन् ।
उनी ४ सदस्यीय टोलीसहित आईतबार विहानको चाइना साउथर्न एयरलाइन्सको उडानबाट काठमाडौं ओर्लिने जनाइएको छ ।
यहुको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको प्रचण्ड समूहका अध्यक्षद्वय प्रचण्ड र नेपाल लगायतका नेताहरूलाई भेट्ने कार्यक्रम तय भएको छ । टोलीले नेकपाको दुबै समूहलाई भेटेर एकता पुनःस्थापित गर्ने प्रयास गर्ने नेकपा स्रोतले जनाएको छ ।
चिनियाँ उच्च स्तरीय टोलीले नेकपाभित्र देखिएको फुटको कारण र पुनः एकीकरणको सम्भावनाका विषयमा छलफल गरेर पार्टी एकता गर्न दबाब दिने जनाइएको छ । नेकपा फुट्नुअघि पनि नेकपाभित्र चिनियाँ राजदूतले पर्याप्त चलखेल गरेकी थिइन् । तर राजदूत यान्छीको चलखेलले नेकपाको फुटलाई रोक्न सकेको थिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।