काठमाडौं – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकका लागि बोलाउँदा सभामुख अग्नि सापकोटा बालुवाटार गएनन् । प्रचण्डको इशारामा ओलीले बोलाएको बैठकमा नगएको आरोप सापकोटामाथि लाग्यो ।
यसरी विवाद बढ्दै जाँदा ओलीले संसद विघटन गरे । संसद विघटनकै सिलसिलामा संसद सचिवालयमा प्रधानमन्त्री ओलीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव दर्ताको विवाद आयो, जुन विवादमा सभामुख सापकोटाले ओलीलाई नै फाइदा पुग्ने गरी दिउँसोको समयमा दर्ता भएको भनेर प्रेस विज्ञप्ति जारी गर्न निर्देशन दिएको पाइयो । त्यसै अनुसार संसद सचिवालयबाट प्रस्ताव दर्ताको समय तोकेर विज्ञप्ति जारी भएको छ ।
संसद विघटनको लामो समयसम्म चुप बसेका सभामुख सापकोटाले केही दिनपछि प्रेस विज्ञप्ति जारी गर्दै ओलीको कदम गलत भएको धारणा व्यक्त गरे । त्यसपछि ओलीले सभामुख सापकोटालाई ‘कानून नजानेका, कीर्ते सभामुख’ भएको आरोप लगाएका थिए ।
अर्काे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अत्यन्तै निकट मानिने सापकोटा फेरि प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद् पुनर्गठनपछि शितलनिवासमा आयोजित मन्त्रीहरूको शपथ कार्यक्रममा खुरुक्क उपस्थित भएका छन् । संसद विघटनअघि ओलीले बोलाएको बैठकमा नगएका सापकोटा संसद विघटनपछि भने खुरुक्क कार्यक्रममा गएका छन् । सभामुख सापकोटा ओलीलाई सहयोग पुग्ने गरी अगाडि बढ्न थालेपछि प्रचण्ड हेरेको हेर्यै भएका छन् । प्रचण्डले भने ओलीविरुद्ध सडक आन्दोलन थालेका छन् ।
शपथ ग्रहण कार्यक्रममा सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना पनि उपस्थित थिए । शपथ ग्रहण कार्यक्रममा प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्ष सहभागी बन्ने प्रचलन रहेको छ ।
शपथ कार्यक्रममा उपरराष्ट्र नन्दबहादुर पुन र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा भने सहभागी भएनन् । पुन बिरामी भएका र राणाले सर्वाेच्च अदालतमा मुद्दा सरकार विरुद्धका मुद्दा हेरिरहेकाले विवाद हुने देखेर शपथमा सहभागी नभएका जनाइएको छ ।
शितलनिवासको कार्यक्रममा सभामुखले प्रधानमन्त्री ओलीलाई सामान्य सञ्चो–विसञ्चो सोधेर मन्त्रिपरिषद् पुनर्गठनबारे जिज्ञासा राख्दै को–को मन्त्री बन्दैछन् भन्ने नै आफूलाई थाहा नभएको बताएका थिए । सभामुख सापकोटाले जिज्ञासा राखेपछि प्रधानमन्त्री ओलीले फलाना–फलानाले शपथ ग्रहण गर्न लागेका भनेर सभामुखलाई जानकारी गराएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।